काठमाडौँ – कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ ।
कैलालीमा दर्जनौँ नागरिकले व्यावसायिक रूपमा फूल खेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको हो । टीकापुरका पुराना फुल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताए । “घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उनले भने, “डेढ विघामा खेती गरेको छु । उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो ।”
४ वर्षअघि १० कठ्ठा जमिनबाट यो पेशा थालेका सितारामले व्यवसाय विस्तार गर्दै आइरहेका छन् । सिताराम जस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिक खेती गरेका छन् । तिहारमा बजारमा फुलका माला तिहारको दुई दिनमै सकिएका व्यापारीहरू बताउँछन् । जानकी गाउँपालिका ४ कि समिरा धामी माला किन्न बुधवार टीकापुर बजार आएका थिए । मखमली फुलका माला किन्न आएकी समिरा माला नपाएपछि रित्तो हात फर्किए । “मखमली फुलका माला लगाउने हाम्रो चलन, बजारमा तयार पाइन्छन् भनेर ढुक्क भए, यहाँ त सकिएका रहेछन्”, उनले भने, “फुलका माला नपाएपछि प्लास्टिकका माला लिएर जादैछु । के गर्नु प्लास्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।”
टीकापुर ३ कि रमिता विकले पनि बजारमा माला पाइनन् । उनी पनि माला किन्न बजारसम्म पुगकी थिइन् । “माला नपाएपछि गाउँमै फुल खोज्न थालेकी छु”, उनले भनिन्, “विगतमा गाउँमा फालाफाल फुल हुन्थे, घरघरमा फुल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फुल पाउन कठिन छ ।”
कैलालीमा फुल खेतीका लागि जग्गा अभाव छैन । हरेक नागरिकका घर २र४ कठ्ठा जमिनमा छन् । एक कठ्ठा जग्गा नभएका निकै कम छन् । यसरी घर वरिपरि जग्गा हुँदा पनि मानिस २ बोट फुल रोप्दैनन् । घरमै फुल रोपेको भए आज फुल र माला अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउँछिन् । “हाम्रा पालामा घर वरिपरि फुलैफुल हुन्थे, कहिल्यै माला, फुल खोज्न, किन्न परेन”, उनी भन्छन्, “हामी फुलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फुल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।”













