काठमाडौं । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो ।
“बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भने , “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।”
बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए । कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ ।
स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै छ वर्ष बित्नै लाग्दा पानीको निकासका लागि पहल नगरिएको स्थानीय बासिन्दाको गुनासो छ । “पानी निकास हुने कल्भर्ट पाइप थुनेर संरचना निर्माण गर्नेलाई कारबाही हुनसकेको छैन”, स्थानीय प्रकाशबहादुर ऐरले भने , “विकल्पका रूपमा नगरपालिकाले ढल निर्माण गरी पानी निकास गर्नुपर्दथ्यो, त्यो पनि हुनसकेको छैन ।”
नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्ने कार्यबाहेक बजार व्यवस्थित गर्ने कार्यमा चासो नदिएको प्रति उनले असन्तुष्टि पोखे । पहिला पानी बजार आसपासकै क्षेत्रसम्म भरिन्थ्यो, हाल वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पस्न थालेको उनले बताए ।
बजार क्षेत्रको एकमात्रै सार्वजनिक शौचालयमा कम्मरभन्दा माथि पानी रहेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानु पर्ने बाध्यता छ । बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ । चार दिनदेखि धेरै व्यापारीले पानीकै कारण पसल खोल्न पाएका छैनन् ।
बजार क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँंग समन्वयको कार्य भइरहेको नगरप्रमुख रणबहादुर महराले बताए । “तत्कालका लागि बजार क्षेत्रमा जम्मा भएको पानी निकासका लागि बजारको पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ”, उनले भने , “पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्छौँ ।”
प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय कञ्चनपुर र पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले कलुवापुर बजार क्षेत्रको डुबान परेको क्षेत्रको शनिबार स्थलगत अनुगमनसमेत गरेका छन् । कलुवापुर बजार क्षेत्रमा झन्डै दुई सय बढी पसल छन् ।













