सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि समय परिवर्तनसँगसँगै विद्वानहरुले गरेका व्याख्या अनुसार ‘गो’ अर्थात् इन्द्रीय, र ‘त्र’ को आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ । सनातन धर्मका अनुसार हामी ऋषिका सन्तान मानिन्छौँ । जसअनुसार प्रत्येक जात थरको सम्बन्ध ऋषिकूलसँग हुन्छ ।
प्राचीन कालमा अंगिरा, कश्यप, वशिष्ठ र भगु चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु भएको हो । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ ।
कालान्तरमा जब वर्ण व्यवस्थाले जाति–व्यवस्थाको रूप लियो त्यसपछि यो पहिचान स्थान तथा कर्मसँग पनि सम्बन्धित हुन पुग्यो । यही कारणको हो कि सबै जातिको गोत्र उनीहरुको उद्गम स्थान या कर्मक्षेत्रसँग सम्बन्धित हुन्छ ।
‘गोत्र’ को पछाडिको मूख्य भाव भनेको एकत्रीकरण हो । यद्यपि वर्तमान समयमा आपसी प्रेम र सौहार्दताको कमीका कारण गोत्रको महत्व पनि विस्तारै कम हुँदै गएर केवल कर्मकाण्डी औपचारिकतामा सीमित हुन पुगेको छ ।
यदि कसैलाई आफ्नो ‘गोत्र’को ज्ञान हुँदैन भने कुनै धार्मिक कर्म गर्दा उनको गोत्र ‘कश्वप’ भनेर उच्चारण गरिन्छ । यस्तो यसकारण हुन्छ कि कश्यप ऋषिका एकभन्दा धेरै विवाह भएका थिए र उनका अनेक पुत्र थिए । त्यसैले यदि कसैलाई आफ्नो गोत्रको ज्ञान छैन भने उनलाई ‘कश्यप’ ऋषिकूलको मानिन्छ । त्यसैले उनको गोत्र कश्वप भनेर उच्चारण गरिन्छ ।













