काठमाडौँ । लियोनेल मेसी अमेरिकाको इन्टर मियामी पुगेका छन् । मेसीले इन्टर मियामीसँग औपचारिक सम्झौता गर्दै जुलाई १६ मा क्लबले औपचारिक रुपमा मेसीलाई प्रस्तुत गर्ने भएको छ ।
मेसीले इन्टर मियामीमा साढे २ बर्षको सम्झौता गर्न लागेका हुन् ।डेभिड बेकहमको यस टिममा मेसीले बार्षिक ५० देखि ६० मिलियन डलर कमाई गर्ने बताइएको छ । मेसीको पारिश्रमिकका लागि इन्टर मियामीलाई एडिडास र एप्पल जस्ता स्पोन्सरले समेत सहयोग गर्ने बताइएको छ ।
मेसीले पिएसजीमा आफ्नो दुई बर्षे सम्झौता सकेपछि फ्री-ट्रान्सफरमा इन्टर मियामीबाट खेल्ने सम्झौता गरेका थिए ।
मेसीले अर्जेन्टिनाको ईएसपीएनसँग कुरा गर्दै आफु जुन क्लबमा गएपनि आफ्नो शतप्रतिशत दिने बताएका थिए । उनले आफु अमेरिका जाने निर्णयप्रति खुशी रहेको बताउदै नयाँ ठाउमा हुने नयाँ चुनौतीलाई स्वीकार गरेको बताए ।
क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएर लिगको चर्चा विश्वमा बढेजस्तै मेसीको अमेरिकी सकर लिगमा आगमनले लिगको चर्चा विश्वभर बढ्ने विश्वास गरिएको छ ।













