तिमी प्राण हौ, शरीर प्राणको भोजन हो । रक्त मांस आदि त्यो भोजन र प्राणको मेल हुँदा म हुँ भन्ने स्मृति आउँछ । यो स्मृतिलाई अब तिमी प्राणकै साथमा राख, दृढता निष्ठता म प्राण हुँ ।
म, भन्ने स्मृतिभन्दा पूर्व ‘मृत्यु, विस्मृति या परम मात्रै छ, मातापिताको रजवीर्य मिलनबाट प्राणको भोजन पात्र तयार भयो अनि जन्म भयो । केही महिना ममात्रै भन्ने बोध हुन्छ । फेरि मेरो भन्ने द्वैत आउँछ अनि समाज, संस्कृति, धर्म, देशको स्वीकृति अनुसारका कुराहरू (जो केवल सामूहिक वर्ग अहङ्कारका निर्माण र व्यवस्था हुन्, आएर हाम्रो जीवनलाई तेलीको गोरुको हाल र धोवीको कुकुरको स्थितिमा राख्छन् । परम–सृजन– म, मेरो, अहङ्कार सबै प्रपञ्च, आत्मनाश– मृत्यु–जन्म, यो क्रम नष्ट गर ‘म’लाई चिनेर सृजनलाई सम्झ, तिमी सर्वदा परम छौ । जहाँ स्वतन्त्रता, अनन्तता, अदृश्यता, आनन्दको शाश्वत ‘विश्राम–सृजन’ छँदै छ, त्यही तिम्रो स्वरूप हो । यसको कोही नामरूप छैन, सबै नामरूप यसैका हुन् ।
जो म सिकाउँदै छु त्यो सम्झनका लागि शरीरसितको ममत्व समाप्त हुनुपर्छ । शाश्वत शान्ति र स्थितिका लागि अरू सबै त्यागेर ‘म को हुँ ?’ भन्ने प्रश्नमा अटल भएर बस, आपूmभित्र आपूmलाई खोज ।
सबै अनित्य र मिथ्याका कल्पनाहरू छोडेर ‘म हुँ’मा बस र हेर । यो ‘म’ कसरी जन्मिन्छ ? के कारणले ? कुन अवस्थामा ? त्यो म जान्दछु । त्यसैमा अलौकिक अनुपमतासहित सहज रहन्छु । जसका मनमा संसारको सम्पत्ति, सम्मान सुखको चाहना छ, जसले संसारलाई त्याग्न सक्तैन, त्यसका जीवनमा प्रज्ञा र बोध नजिक आउँदैनन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













