दुई हृदयको चाह प्रेम हो, यसबाट उत्पन्न सबै कर्म न्यायोचित हुन् तर यसमा परवश, बुद्धिहीन, लोभी–स्वार्थी, कायर आदिको अन्तर्भाव हुनुहुँदैन ।
दुवै प्रेम पात्र स्वतन्त्र (स्वभाव, धन, व्यवहारमा) हुनुपर्छ तब मात्रै दुवैको व्यवहार, सम्मिलन न्यायअन्तर्गत आउँछ ।
न्याय, धैर्य तथा उदारता छ भने निरन्तर हानि लाभमा डुब्नु उचित पर्दैन । राम्रो नराम्रो, धनीगरीब, परिचितअपरिचित, सानोठूलोको भेद नराखी जसको जो हक छ त्यो देशकाल अनुसार दिनु, गर्नु न्याय हो । चाँडै टङ्ग्याउनु वा धनी हुनुको त्रास नभई जो होला ‘माली सिचे सौ घडा, ऋतु आये फल होय’ पद्धतिलाई सम्झनु धैर्य हो । जो मेरो छ मेरै हो, जहाँ भए पनि मेरै साथमा आउँछ भन्ने दृढ निश्चयबाट उत्पन्न निष्ठा नै उदारता हो ।
नाशवान् वस्तु भाग्यका छन्, अविनाशी परमात्मा बुद्धिका हुन् ।
संसारका सबै पदार्थ भाग्यका अधीनमा छन् । भाग्यमा भएको वस्तु, व्यक्तिको उपलब्धि कर्मद्वारा हुन्छ, चाहेर इच्छा गरेर धेरै थोरै हुने होइन ।
शान्ति, आत्मस्थिति–बुद्धि, तथा पुरुषार्थका अन्तर्गत छन्, प्रयत्न नगरी धर्म हुँदैन, धर्म नभई प्रज्ञा खुल्दैन, प्रज्ञा नखुली स्थिरता आउँदैन, स्थिरता नआए शक्ति पाइँदैन, शान्तिमा नबसी परमात्माको साक्षात्कार हुँदैन ।
इन्द्रियको चञ्चलता, प्राप्त भोगको राग, अप्राप्त भोगको चाहना त्याग्नुप¥यो । यस त्यागमा स्वतः शान्तिको प्रकाश हुन्छ ।
आत्म प्रवाहको एक मात्र विश्राम परमात्मा हो, त्यहाँ नपुगी अरू कुनै सम्बन्ध बनाएर वा वस्तु जमा गरेर मनुष्यलाई तृप्ति, साँचो सुख कहिल्यै हुने छैन, यो कुरा बुझ्नै पर्छ ।
समय र त्याग आफू भित्रबाट आउनुपर्छ, सत्सङ्ग र शास्त्रले त मलजलको काम गर्छन् । बीउ नै छैन भने त झारपात मात्रै उम्रिन्छन् । उदारता र वैरागले समझ र त्यागको विकास गर्छन् ।
धेरै सामाजिक चिन्तन गर्न हुन्न, केवल तत्वसम्बन्धी दर्शनशास्त्र या जीवनसम्बन्धी विचार विमर्श गर्नु नै उत्तम हो । अगाडिको मनुष्यको मनस्थिति कहाँ छ त्यो जान्न सुलभ छैन तसर्थ सजगता आवश्यक छ ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













