मनुष्यले दुःख द्वन्द्वबाट बच्नका लागि अनेक प्रकारका ध्यान गरेको छ । यी सबै ध्यानका तरिका इच्छामा आधारित छन् । कहीँ पुग्ने लालसा छ । सङ्कल्पको शीघ्रता छ, यसै प्रक्रियामा नै दुःख, द्वन्द्व र द्विविधाका बीज छन् । यी सबै होशपूर्वक बनाएका संस्कारका आयोजनहरू स्वयम् बन्धन हुन् यिनमा स्वतन्त्रता छैन । विचारप्रवाहको अन्त नै ध्यान हो । जब हामी निर्विकल्प शान्तिमा हुन्छौँ, तबमात्र इच्छाभन्दा परको आयाम जानकारीमा आउँछ ।
ध्यानयुक्त मन शान्त हुन्छ । यो शान्तिलाई विचारले समात्न सक्दैन । यो वातावरण या समयले प्रस्तुत गरेको शान्ति होइन । यो शान्ति तब आउँछ जब विचार सबै आफ्ना छवि–प्रतिछवि, शब्द दर्शनबाट मुक्त हुन्छ । यो ध्यानयुक्त मन धार्मिक मन हो । ध्यानी मन प्रेमको विस्फोट हो । प्रेमले विभाजन जान्दैन निकट दूर, एक र धेरै त्यहाँ छैन । प्रेममा भेद समाप्त हुन्छ, सौन्दर्य र प्रेम शब्दका विषय होइनन् ।
रुचिको प्रवृत्तिले अहं शान्त हुँदैन । आवश्यकता, सुविधाको विकासका साथ आसक्ति आउँछ, समाधान हुँदैन । मृत्युको वेदना प्रज्ञामा एकचोटी नसही आसक्तिका अहंको नाश हुँदैन । एक न एक दिन मृत्युको वियोग सहनुपर्छ । यसै क्षण धैर्यले सहन सके परम आउनेछ, उसले प्रतीक्षा गरिरहेको छ । मनोरञ्जनद्वारा समयलाई पर नसार । निर्दोष शान्त, जीवनपद्धति, सुन्नु, देख्नु र समझ राख्नुमा रहेको छ ।
ध्यान संसारबाट भाग्नु होइन, संसारको प्रवृत्ति सम्झनु हो, बाहिरबाट भोज्न, वस्त्र छायाँ र धेरै दुःखका साथ विषयको सुख पाइन्छ, सार्थक केही पाइँदैन । ध्यान हो अनजान, अकिञ्चन भएर परिवर्तनको अवलोकन गर्नु । कर्ता र भोक्तापनको भारविना जब हामी बाँच्न जान्दछौँ, तब मात्रै हामी स्वर्ग र पृथ्वीमा एक साथ हुन्छौँ । जब कुनै दृश्यको, अभ्यासको बानी पर्छ, प्रेम छैन भने त्यसको ताजापन नष्ट हुन्छ ।
कसैको निन्दास्तुति नगरी किन हामी रहँदैनौँ ? आफैले आफैमा मस्त भएर किन हामी बस्तैनौँ ? सम्झनुपर्छ, सहनुपर्छ जबसम्म शरीरको साथ छ स्वार्थ अहंको हो । यो विस्तार माने छ, न माने के छ र ?
स्मृतिलाई श्वासका साथमा लगाइदिएपछि इच्छा र विचारको उद्गम हेर्न सजिलो हुन्छ । आवश्यकता र सम्पर्क अत्यन्त कम गरी एकान्तमा मौन रहेर उठ्दा, बस्दा, हिँड्दा, बोल्दा सबै समयमा श्वासप्रश्वासमा होश राख्नुपर्दछ ।
धेरै विचार, धेरै कुराकानी, हातगोडा चलाउने धेरै कर्म नगरिकन, सहज स्वस्थ युक्ताहार, युक्तचेष्टा, युक्तस्वप्नका साथ स्मृति प्राणको सम्मेलन गर्नु ‘जीवनमुक्ति सोपान’ हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













