सङ्कल्प समूहको त्याग नै असङ्गता हो । कर्तृत्व अभिमान नरहेपछि भोक्तृत्व भाव पनि रहँदैन । भोक्तापन हट्नासाथ समता र एकता सिद्ध हुन्छ समता र एकताद्वारा अनन्तताको सिद्धि हुन्छ । त्यहाँ अनन्त नित्य विज्ञान आनन्द धन स्वरूप उपलब्ध हुन्छ ।
अकृतात्मा अरू अचेतसः नर–नारीहरू गर्न त ध्यान स्वाध्याय, जपहरू सबै साधन गर्दछन्, परन्तु अन्तस्करणमा सांसारिक भोग र सङ्ग्रहको महत्त्व भएको हुनाले, तत्तवको अनुभव हुँदैन ।
वर्तमानमा अहिले र यहीँ तत्त्वको अनुभव भोग एवं सङ्ग्रहको सर्वथा त्याग पछि हुन्छ । सत्पुरुषले परीक्षणको पद्धति बताउँछ ! परीक्षणका लागि निरीक्षण अवश्यक हुन्छ ।
निरीक्षणका लागि प्रयोगात्मक क्रियाशीलता र धैर्यको आवश्यकता रहन्छ । अज्ञान, लोभ, मोह र डरमा आधारित कर्महरू भ्रम, चिन्ता र पश्चात्तापका उत्पादक हुन पुग्छन् । जस्तो इच्छा गर्छौ, त्यस्तै कर्मधार, आफ्नो परिश्रम सामथ्र्यभन्दा धेरैको इच्छा नगर । शब्दमा, वाक्यमा जो भन्दछौ, त्यस्तै बाँचेर देखाऊ । आफ्ना मनमा, अभिमानमा, चाहनामा जो छ, जस्तो छ त्यही संसार हो र सबैको आफ्नो आफ्नो निजी संसार छ, त्यो निजी भन्ने भेदले नै हामीलाई अज्ञानी, दुःखी एवं अशान्त पार्दछ ।
स्मृतिको स्वभाव कस्तो छ त्यो थाहा गर ? एकाग्रता र चञ्चलता अपेक्षाका अनुसार विभाजित छन् । अपेक्षा छँदै छैन भने केका लागि एकाग्रता र कस्तो चञ्चलता ?
इष्र्या किन हुन्छ ? क्रोध किन आउँछ ? लोभले के दिन्छ ? मनमा उठ्ने भावहरूलाई केही नाम नदिइकन उठेकै वेलामा सीधा प्रत्यक्ष गर । हानिलाभ, सुखदुःख जय पराजय निन्दास्तुति, संयोगवियोग, जन्ममृत्यु सहचारी छन् । जहाँसम्म शरीर छ भाग्यको कार्यक्षेत्र छँदै छ मृत्युकाल भनेको तीव्रता र अन्तिम क्षणको अनुभव हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













