हे सत्य जहाँ भीड, धन तुच्छ मानको चिन्ता गर्नुपर्छ, त्यहाँ मनलाई जान नदेऊ । चिन्ता, धन, स्वार्थमय भीड, अस्थिर चित्त, लोभी साधु र मोह प्रपञ्ची गृहस्थहरूले दिएको तुच्छ मानमा मन नलगाऊँ । समग्र जीवन निरपेक्ष बनाउने प्रयास, जे प्राप्त भयो त्यसलाई बाँड्दै, बढीको कामना नगरी सत्सङ्गमा, यात्रामा बिताउन पनि सकिन्छ ।
यो ठाउँ मेरो हो, यो सम्पत्ति परम्पराको हो भन्ने मोह र व्यर्थताको त्याग गर्नु नै प्रज्ञामा बसी वैरागी हुनु हो । गङ्गातट नर्मदातट गण्डकी, कोशी, हिमालय, विन्ध्य, महेन्द्र आदि पर्वतमा विचरण गर्दै भोलिको केही कल्पना नगरी ‘चरैवेति चरैवेति’का रूपमा जीवन बिताउनु कति रमाइलो हुन्छ । तिम्रो आफ्नो सम्झना र कल्पनाबाहेक अरू केही छैन, नकारात्मक चिन्तन गर्ने र कुरा खेलाउने व्यक्तिहरूको सङ्गत नगर्नु नै जीवनमा आनन्दित हुनु हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













