काठमाडौं । अबको दुई दशकमा विश्वभर तेलको माग बढेर दैनिक ११ करोड ब्यारेलमा पुग्ने अनुमान गरिएको छ । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन ९ओपेक०ले सोमवार यस्तो बताएको हो । ओपेकका अनुसार करीब २० वर्षमा विश्वको इन्धन माग अहिलेको भन्दा २३ प्रतिशतले बढ्नेछ ।
निकट भविष्यसम्मै पनि तेल प्रतिस्थापन नहुने ओपेकका महासचिव हाइथाम अल घाइसले मलेशियाको क्वालालम्पुरमा आयोजित ऊर्जा सम्मेलनमा बताएका छन् । संगठनको विश्वव्यापी परिदृश्यमा सन् २०४५ सम्ममा विश्वको तेल माग बढेर दैनिक ११ करोड डलरमा पुग्ने उनले बताए । त्यति बेला माग हुने कूल इन्धनमा तेलको अनुपात २९ प्रतिशत हुने उनको भनाइ छ ।
उनका अनुसार सन् २०४५ सम्ममा विश्वको ऊर्जा माग २३ प्रतिशतले बढ्नेछ । ओपेकको यो प्रक्षेपण अन्तरराष्ट्रिय ऊर्जा निकाय ९आईईए०को प्रक्षेपणसँग बाझिन्छ । आईईएका अनुसार सन् २०२३ मा दैनिक माग वृद्धि २४ लाख ब्यारेलबाट घटेर सन् २०२८ मा दैनिक ४ लाख ब्यारेलमा झर्ने छ । आईईएले दुई हप्ताअघि सन् २०२८ मा तेलको दैनिक माग १० करोड ५७ लाख ब्यारेल रहने भनेको थियो । एजेन्सी













