काठमाडौँ । रुसमा निजी सेना वाग्नरले गरेको डेढ दिनसम्म चलेको विद्रोह समाप्त भएको छ । वाग्नर समूहका अहिले प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएसँगै कथित विद्रोहको अन्त्य भएको बताइएको छ ।
प्रिगोजिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग कुराकानी पछि आफ्नो विद्रोह रोकेका हुन् । सम्झौता अनुसार प्रोगोजिन बेलारुस जाने बताइएको छ र उनीविरुद्धको फौजदारी मुद्दा फिर्ता लिइनेछ । क्रेमलिनले सबैभन्दा ठूलो लक्ष्य रक्तपात, आन्तरिक द्वन्द्व र अप्रत्याशित नतिजाहरूका साथ द्वन्द्वबाट बचेको बताएको छ ।
तर, यो विद्रोहले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बलियो र अजेय रहेको मिथकलाई चकनाचुर पारेको छ । एकै समयमा, यसले युक्रेनमा युद्ध लड्ने उनको क्षमतामा प्रश्न उठाएको छ । यस्तो अवस्थामा रुसमा के भयो जान्न जरुरी छ रु कसरी सुरु भयो विद्रोह रु पुटिनले कस्तो प्रतिक्रिया दिए रु वाग्नरसँग अब के विकल्पहरू छन् रु के विद्रोहले युक्रेन युद्धमा प्रभाव पार्न सक्छरु
के भयो रुसमा ?
रुसको निजी सेना वाग्नर समूहका प्रमुख प्रिगोजिनले शुक्रबार रातिदेखि शनिबारसम्म सन्देशहरूको श्रृंखला जारी गरे । यसमा, प्रिगोजिनले उनी र उनका सेनाहरू दक्षिणी रूसी शहर रोस्तोभमा प्रवेश गरेको र सैन्य स्थानहरू नियन्त्रणमा लिएको दाबि गरेका थिए । यस पछि निजी सेनाले मस्कोमा मार्च गर्ने धम्की दिए, तर त्यसपछि प्रिगोजिनले अचानक आफ्नो फिर्ताको घोषणा गरे ।
कसरी सुरु भयो विद्रोह ?
वास्तवमा, धेरै महिना देखि, एक शक्ति संघर्ष रूसी सेना र प्रिगोजिनको शीर्ष अधिकारीहरुबीच चलिरहेको थियो । प्रिगोजिनले पूर्वी युक्रेनमा आफ्ना सैनिकको मृत्युको लागि रुसी सेनालाई दोष दिइरहेका छन् । उनले बारम्बार आफ्नो निजी सेनालाई पर्याप्त रूपमा हतियार र राशन उपलब्ध नगराएको र वाग्नरले जितेका विजयहरूलाई आफ्नै सफलताको रूपमा दाबी गरेको आरोप लगाउदै आएका छन् ।
प्रिगोजिनको क्रोध शुक्रबार खुला रूपमा बाहिर आयो, जब उनले मस्कोको सैन्य नेतृत्वलाई वाग्नर शिविरहरूमा आक्रमणको आदेश दिएको आरोप लगाए । वाग्नर प्रमुखले मस्कोलाई सिधै धम्कि दिदै आफ्नो सेनालाई मस्कोतर्फ जान केन्द्रित गरे र आफ्नो सेनाले रुसी सेनाको हेलिकप्टर खसालेको दाबी गरे ।
केही घन्टापछि, प्रिगोजिनले दक्षिणी रुसको रोस्तोभमा रहेको आफ्नो सैन्य आधार कब्जा भएको बताए । निजी मिलिशियाहरू राजधानी मस्कोबाट करिब ४२० किलोमिटर टाढा लिपेत्स्क क्षेत्रसम्म पुगेका थिए तर प्रिगोजिनले अचानक आफ्ना सेनाहरू रक्तपात हुनबाट जोगिनका लागि फिर्ता भइरहेको घोषणा गरे ।
पुटिनले कस्तो प्रतिक्रिया देखाए ?
पुटिनले वाग्नर विद्रोहलाई रुसका लागि घातक खतराको रूपमा वर्णन गर्दै देशलाई एकताबद्ध हुन आग्रह गरेका थिए । शनिबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले देशद्रोहको बाटो हिँड्नेलाई कारबाही गर्ने धम्की दिए । उनले वाग्नरको विश्वासघात देश र हाम्रा जनताको पछाडि छुरा प्रहार भएको बताए । उनले समूहको कार्यलाई १९१७ को रूसी क्रान्तिसँग तुलना गरे, जसले प्रथम विश्वयुद्धमा जार निकोलस द्वितीयलाई पराजित गर्यो । यसैबीच, मस्को र रोस्तोभ र लिपेत्स्क जस्ता धेरै क्षेत्रहरूमा सुरक्षा कडा बनाइएको थियो र राजधानीको दक्षिणमा रहेको कालुगा क्षेत्रमा यात्रा प्रतिबन्ध लगाइएको थियो ।
यसैबीच पुटिनले टर्कीका राष्ट्रपति एर्दोगान र कजाकिस्तान र उज्वेकिस्तानका नेताहरूसँग पनि टेलिफोन वार्ता गरे । यससँगै उनले आफ्ना सहकर्मी बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोलाई पनि बोलाए । लुकासेन्कोकै पहलमा वाग्नरको विद्रोह रोक्न र तनाव कम गर्न प्रिगोजिनसँग सम्झौता गरेको थियो । वाग्नरको घोषणापछि पुटिनले लुकासेन्कोलाई धन्यवाद दिएका छन् ।
वाग्नरसँग अब के विकल्पहरू छन् ?
लुकाशेन्कोले मध्यस्थता गरेको सम्झौताको एक भागको रूपमा, क्रेमलिनले प्रिगोजिन बेलारुस जाने र उनीविरुद्धको आपराधिक मुद्दा खारेज हुने बताएको छ । क्रेमलिनले सशस्त्र विद्रोहमा सामेल भएका प्रिगोजिनको अर्धसैनिक बलका सदस्यहरूलाई मुद्दा नचलाउने सहमति भएको छ । त्यस्तै विद्रोहमा भाग नलिने लडाकुहरूलाई औपचारिक रूपमा रुसी सेनामा भर्ती हुन दिइने बताइएको छ ।
अर्कोतर्फ, यदि विशेषज्ञहरू विश्वास गर्ने हो भने, वाग्नर समूह एक स्वतन्त्र लडाई कम्पनी हो जुन रूसी सेनाभन्दा फरक अवस्थाहरू छन् । उदाहरणको लागि वाग्नर लडाकुहरुलाई रुसी सेनाहरुलाई भन्दा राम्रो खाना खुवाइन्छ, यसको मतलब यो पूर्णतया मर्ज गर्न गाह्रो हुनेछ । विज्ञहरू भन्छन्, ‘केही टुक्रा टुक्रा हुन सक्छ । तिनीहरू प्रिगोजिनप्रति वफादार छन्, देशप्रति होइन, कारणप्रति होइन ।’
अन्य विज्ञहरूले भने वाग्नर बोसका लागि पनि खतरा समाप्त नभएको विश्लेषण गरेका छन् । पुटिनले देशद्रोहीहरूलाई माफ गर्दैनन् । अर्कोतर्फ, जबसम्म प्रिगोजिनलाई कुनै पनि प्रकारको समर्थन छ, उनी जहाँ भए पनि रूस र खासगरी पुटिनका लागि खतरा नै हुन् ।
युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्छ ?
वाग्नर विद्रोह पुटिनको लामो शासनको लागि सबैभन्दा ठूलो चुनौती थियो । सन् १९९९ मा उनी सत्तामा आएदेखि नै रुसको सबैभन्दा गम्भीर सुरक्षा संकट बनेको छ । यसले रुसी सेनालाई युक्रेनको युद्धभूमिबाट टाढा राख्न बाध्य तुल्यायो । युक्रेनले आफ्नो भूभाग पुनस् कब्जा गर्न कारबाही गरिरहेको छ । युक्रेनी सेनाले रुसको विद्रोहको बीचमा आफ्नो पूर्वी मोर्चामा धेरै नयाँ आक्रमणहरू सुरु गरेको छ । युक्रेनका उपरक्षा मन्त्री गन्ना मल्यारले आफ्ना सेनाले धेरै सहर नजिकै रुसी सिमानामा आक्रमण गरेको र सबै दिशातर्फ अघि बढेको बताएका छन् ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिन सायद धेरै डराएको र लुकेर बसेको टिप्पणी गरेका छन् । उनले पश्चिमी सहयोगीहरूलाई रक्षाका लागि आवश्यक सबै हतियार उपलब्ध गराउन आग्रह पनि गरेका छन् । उनले किभलाई एफ(१६ लडाकु विमान र सेनाको रणनीतिक मिसाइल प्रणाली आवश्यक रहेको बताएका छन् ।
वाग्नरको कथित विद्रोहले युक्रेन युद्धमा रुसी मोर्चामा आत्मविश्वास पक्कै गुमेको छ । रणनीतिक रुपमा अबका दिनमा युक्रेन युद्ध कसरी अगाडी बढ्छ अहिले नै भन्न त सकिन्न तर यो घटनाले युक्रेनको आत्मबल थप बलियो भने अवश्य बनेको छ ।













