काठमाडौँ । पछिल्ला वर्षहरुमा नेपाल प्रहरीको जागिर छोड्नेको लर्काे लागेको छ । अघिल्लो महिना प्रहरी प्रधान कार्यालय नक्सालले दश जना प्रहरी फरार रहेकाले कार्यालयमा हाजिर हुन आउन भन्दै सूचना नै जारी गरेको थियो ।
प्रहरीले जारी गरेको सूचना अनुसार फरार हुने सूचीमा सूचीमा दीपेन्द्र सिंह, निरकुमार राई, दिपु अग्रवाल, गोविन्द केसी, राफल यादव, विशाल कुमार राई, आनन्द मण्डल, धर्मेन्द्र विक, आलेश थापामगर र हरिराज विक थिए ।
यसरी प्रहरीमा जागिर छोटो समयमा नै जागिर छोड्न पलायन हुने घटना दोहोरिन थालेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो साढे ५ वर्षको अवधिमा मात्र ९ हजार २४८ जना प्रहरीले जागिर छाडेका छन् ।
पछिल्लो साढे ५ वर्षमा कतिले छाडे ?
आर्थिक वर्ष २०७४/७५ – २५६४
आर्थिक वर्ष २०७५/७६ – ३०७३
आर्थिक वर्ष २०७६/७७ – २०७७
आर्थिक वर्ष २०७७/७८ – ७०३
आर्थिक वर्ष २०७८/७९ – ४९८
चालु आर्थिक वर्ष – ४१६ (बैशाख सम्म)
जम्मा – ९३३१
स्रोतः प्रहरी प्रधान कार्यालय
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार जागिर छाड्नेमा प्रहरीको तल्लो दहका कर्मचारी देखि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सम्म रहेका छन् । तथ्याङ्अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि गत फागुन १६ गते सम्म करिव साढे ५ वर्षको अवधिमा ४ जना डीआईजीले जागिर छाडेका छन् ।
त्यस्तै वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) ३ जना, प्रहरी उपरिक्षक (एसपी) ५ जना, प्रहरी नायव उपरिक्षक (डीएसपी) १७ जना, प्रहरी निरीक्षक (इन्स्पेक्टर) ६१ जना, प्रहरी नायव निरीक्षक (सई) ४५५ जना, प्रहरी सहायक निरीक्षक (असई) १ हजार ३३१ र बाँकी असई भन्दा तल्लो पदका रहेका छन् । आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ ।
किन राजीनामा ?
प्रहरी संगठनलाई राम्ररी बुझेका जानकारहरुले भने इगो र संगठनभित्रको अन्यायका कारण राजीनामा दिने गरेको बताएका छन् । तल्लो दर्जामा रहनेहरुले भने प्रहरीको जागिरले परिवार धान्न मुस्किल भएपछि बैकल्पिक पेशा रोज्दा प्रहरीको जागिर छोड्ने गरेको पाइएको छ । उनीहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । पूर्वडीआइजी केशव अधिकारीका अनुसार सेवा सुविधाका साथसाथै विकसित देशको भिसा लाग्दा, डिभी चिट्ठा पारेर पनि प्रहरीको जागिर छाड्ने गरेको पाइएको छ ।
अर्कातिर प्रहरीभित्र सिनियर प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मुल्यांकनलगायतका कारणले जुनियर प्रहरीहरुले राजीनामा दिने गरेको पाइएको छ । यसबाहेक नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का लगायतका कारणले पनि जागिरबाट राजीनामा दिने क्रम बढेको छ । अझ १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू जागिरपछि अन्य पेशामा जाने गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतका अनुसार प्रहरीले विचैमा जागिर छाड्दा एकातिर राज्यलाई घाटा भइरहेको छ भने अर्कातिर जागिर छाड्नेहरु सस्तोमा श्रम बेचिरहेका छन् ।













