काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति प्रति आपत्ति जनाएको छ। ओलीले कांग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएपछि समितिले आपत्ति जनाएको हो ।
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्रचार गरेको छ । रौतहट प्रहरी कार्यालयलाई बिहिबार ९आजै० पत्र लेखेर सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै पहिलो हुने निर्वाचित हुने प्राणालीतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्रमा प्रधानमन्त्री बन्ने बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले ५ वर्षभित्रै गोरखाले प्रधानमन्त्री पाउने बताएका हुन् । ‘गोरखाका जनतालाई सम्मान र सेवा दिन म गएको हो’, प्रचण्डले भने, ‘दुनियाले देख्ने र बुझ्ने गरी काम गरेर गोरखाबाट देशभरी विकासको मोडेल दिन सक्छु । यति काम गरियो भने गोरखाले ५ वर्षभित्रमा प्रधानमन्त्री पाउँछ ।’
निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले नबुझी आयोगमै फिर्ता पठाइदिएको छ । आयोगले नेता नेपाललाई सम्बोधन गरेर स्पष्टीकरण मागेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।
कमेडियन अपूर्व क्षितिज साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर छुटेका हुन् । क्षितिजविरुद्ध चारवटा कसुरमा मंगलबार मुद्धा दर्ता भएको थियो ।
मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् ।
बेलायती प्रधानमन्त्रीको चुनाव अक्टोबर २८ सम्ममा हुने भएको छ । कन्जरभेटिभ पार्टीको नेताको रूपमा लिज ट्रसले बिहिबार राजीनामा दिएपछि अक्टोबर २८ गते शुक्रबारसम्ममा अर्को निर्वाचन हुने बताइएको छ । ४५ दिन प्रधानमन्त्रीका रुपमा नेतृत्व लिएकी ट्रसले आफु काम गर्न असमर्थ रहेको भन्दै बिहिबार पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् ।













