काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।
बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक विमान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको बताएका थिए ।
उनले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बीआरआई परियोजनाअन्तर्गतको हो ।’
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो ।
सीएएमसीईसँग मूल्य अभिवृद्धि कर ९भ्याट० सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।













