त्यागी तर सामाजिक प्रवृत्तिमा लागेका साधु वा विद्वान्हरू मिथ्या दृष्टिमा अल्झिएका भ्रमात्मक जीवनका चक्करमा मात्रै परेका छन् ।
पठित मूर्ख र विद्या बेच्नुको सम्पर्कले आत्मज्ञान वा जीवनको साँचो बाटो देख्न निक्कै कठिन पर्छ । साधना गर्ने साधकले श्वास–प्रश्वास हेर अरू सबै बिर्स ।
कर्मको प्रवाह सञ्चित प्रारब्धका रूपमा चल्दछ त्यसै गरी विचार (इच्छा सङ्कल्प) को प्रवाह आग्रह विश्वासका रूपमा चल्दछ । जबसम्म सजग भएर मैले यिनीहरूको मूल जो कि आकाङ्क्षा हो, आसक्ति हो, लोभ हो यसलाई नष्ट पार्दिन तबसम्म जन्ममृत्युको प्रवाह चलिरहन्छ ।
कर्मको फलगत भोग अनेक योनिमा गाई, सिंह, कुकुर आदिमा हुन सम्भव छ । परन्तु दर्शनमा यो सम्झन सकिन्छ कि विचारको भोग मनुष्य शरीरमा मात्र समग्रतया रहन्छ । सबै पशुहरूको दुःख अज्ञान, कायरता, लोभका कारणले मनुष्यले भोग्नुपर्छ । भोगनाश वा जन्मनाश अनासक्तिबाट मात्र सम्भव छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













