काठमाडौं । सरकारले डा वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
अर्याललाई मुख्यसचिव नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि शंकरदास बैरागी मुख्य सचिव थिए । उनलाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ । बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए ।
आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको मन्त्री एनपी साउदले बताए।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । असार २ गतेदेखि अवकाश पाउँदै गरेका बैकुण्ठ अर्याललाई सरकारले त्यसअघि नै मुख्यसचिव बनाएको हो ।
यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए ।
सहसचिव रहँदा लामो समय अर्थ मन्त्रालय बजेट महाशाखामा काम गरेका अर्यालकै नेतृत्वमा बजेटको समयमा खारेज गरिने निकायको अध्ययन गरेका थिए ।













