१. मन जबसम्म शुद्ध हुँदैन तबसम्म स्थिर हुँदैन । वैराग्यद्वारा चित्तको शुद्धि र अभ्यासद्वारा स्थिरता हुन्छ । मनन् कुनै किसिमले पनि बन्द हुँदैन भने कुनै मूर्ति आदिमा अन्तर त्राटक गर ।
२. मन–बुद्धिको मूल पत्ता लगाऊ र यिनलाई जान्ने जुन आफू छौ, त्यसलाई आफू स्वयम्लाई चिन । मनलाई अत्यन्त स्थिर पारेर स्वयम् आफूलाई खोज, पत्ता लाग्छ । बुद्धिलाई सूक्ष्म पार्नको लागि महावाक्यको विवरण, श्रवण, मनन्, निदिध्यासनको अत्यन्त आवश्यकता छ ।
३. चैतन्यबुद्धि वृत्तिरुपमा विकल्पद्वारा आवृत्त हुँदा पनि दुई विकल्प (वृत्ति–सन्धि) को बीच स्पष्ट प्रतित हुन्छ । पहिलो विकल्प नष्ट भई अर्काे उत्पन्न नभएसम्म (सन्धिकालमा निर्विकल्प चैतन्य स्पष्ट रुपले प्रकाशित रहन्छ । यसै सन्धिकाललाई साध्नु (बढाउनु) को नाम सन्ध्या हो ।
४. मपनको भाषा वा कल्पनालाई आफूबाट हटाइदेऊ । म र मेरोसँग जुन जुक आसक्ति छ, सबै आफूबाट अलग्याऊ ।
५. मन जब स्थिर हुन्छ, कल्पना नष्ट हुन्छ ।
६. ध्याता–ध्यान–ध्येय आदि विविध वस्तुहरुलाई जो प्रकाशित गर्छ, उही आत्मा हो, उही तिमी हौ । यिनै त्रिपुरीलाई अतिक्रमण गरी तन्मय होऊ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













