काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।
आज (मंगलबार) एक सूचना जारी गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।
सूचनामा भनिएको छ – काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।













