बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा एक सय २० घरमा क्षति भएको छ । हम्बनटोटा, गाले, टिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, राजधानी कोलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन् । दुई सय ६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
मौसम विज्ञान विभागका अधिकारीहरूले आगामी दिनमा पनि दक्षिण एशियाली देशमा वर्षा हुने जानकारी दिँदै सचेत रहन सुझाव दिएका छन् ।













