कहीँ केही छैन, जे छ आफ्नै मनमा छ । मनबाट त्यो चीज हटाइदेऊ । अब केही छैन, सम्बन्ध बनाउन स्वतन्त्र छौ, त्यसको आफ्नो बन्धन छ, आफ्नो सुविधा छ ।
मित्रको स्वभाव आपूmसित मिल्नुपर्छ । देहको काम भाग्यलाई सुम्पेर समता र प्रज्ञापूर्वक जीवनयापन गर्नु हो । लोभलाई त्यागले, मोहलाई विचारले अभावलाई सन्तोषले जितेर, सम्हालेर, सम्झेर आत्मिक प्रसन्नतामा रहनु सत्सङ्ग हो ।
सत्सङ्गमा स्थितिपछि गुरुको प्रकाश चाहिन्छ । गुरुको सेवा सान्निध्य पाउनु सौभाग्य हो । यसमा नम्रता, समर्पण हार्दिक अपनत्वको सजगता चाहिन्छ ।
रुचिविना प्रवृत्ति हुँदैन, गुरुविना अभ्यास बन्दैन, अभ्यासविना स्थिरता आउँदैन, स्थिरताविना शान्ति छैन, शान्तिविना दर्शन छैन, दर्शनविना अनन्त छैन । केही नसोच्नु, केही नसम्झनु, केही नहुनु यही हो परम जीवन ।
शरीर र अभिमानको सम्बन्ध छँदासम्म आफ्नाआफ्ना किसिमका शास्त्रले अधिकार गर्छन्, परन्तु जसको कहीँ राग छैन, परमको यात्रामा छ, उसलाई केही लाग्दैन साथै उसले सबै भारी पन्छाएर हुलुङ्गो बनाउनुपर्छ । यहाँको लौकिक यात्रामा पनि जति भार कम हुन्छ, उति सुविधा हुन्छ ।
गाउँघरमा सम्बन्धलाई लिएर खुब निन्दास्तुति गरिन्छ तर त्याग गर्न नसकेर रहनुका साथै त्यस्तै कर्मकाण्ड विरुद्धका उपनिषद् या अष्टावक्र दत्तात्रेय कृष्णका कुराहरू संसारी मनका विकल्प हुन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













