विवेक भनेको सम्यक् विचार हो । शरीरका साथ जन्मिने सम्बन्धको विवेक भौतिक हो । मन र अहङ्कारले बनाएका सम्बन्ध धर्म ईश्वर आदि दैविक विवेकबाट जानिन्छ ।
मेरो देह र यावत् सृजन पञ्चतत्व र अन्तःकरणले मिलेर भएको हो । म र त्यो गुलावको फूल समान हुँ, यो जान्नु आध्यात्मिक विवेक हो । स्थान, छिमेकी वा सम्बन्धी सबैको शान्तिमा यथार्थ जीवनमा बाधा भए विवेकले स्वतः त्याग गराइदिन्छ । भाग्यले व्यवस्था दिन्छ, साधन दिन्छ । त्याग स्वतन्त्र सत्ता हो, जसले पनि त्याग गर्छ, त्यो स्वराट् हो इन्द्र या राजा उसका सेवक हुन्छन् ।
जो लोभ, मोह वा स्वार्थबाट स्वतन्त्र छ त्यहाँ औषधीको आवश्यकता छैन । सत्यले निरोगीको सङ्गत गर्छ, उसलाई तत्व दिन्छ । रोगीका हस्पिटल धेरै छन्, वैद्यहरू पनि धेरै छन्, यो कुरा राम्ररी सम्झनुपर्छ ।
स्थिति, कामना गरेर पाइँदैन, त्याग स्वतः स्थितिमा रूपान्तरित हुन्छ । सुस्त सुस्त त्याग हुँदैन, त्याग त्वरित हुन्छ । घर, धन, सम्बन्ध छोड्नु पलायन हो । त्याग भनेको अहङ्कार छोडनु हो । त्यागका साथ अनावश्यक कुरा छुड्दैै जान्छन् । आवश्यक स्वयं कार्य गरिरहन्छ । इच्छा अपेक्षा र मनोरथको स्वभाव जान्नुपर्छ । वेहोशी (अज्ञान) बाट इच्छाको प्रवाह चल्छ । इच्छानुरूप कर्म गर्दा अपेक्षा आउँछ, अपेक्षाको पूर्ति नभएमा क्रोध र पूर्ति भएमा लोभ आउँछ । काम क्रोध र लोभ मिलेर ‘तृष्णा’ भन्ने अजर अमर तुच्छतत्व जो दुःख र द्वन्द्वको विशाल फल हो, फल्छ । यिनीहरू सबैको बीज हो– इच्छा (आशा अपेक्षा–तृष्णा) । इच्छाको नाश वा समझले स्वतन्त्रता दिन्छ । कर्मको पापपुण्यले समाजको लाभहानि दिन्छ— असली चीज हो— मनलाई सम्झनु सम्हाल्नु र आत्मालाई चिन्नु ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













