काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पार्टीकै केन्द्रीय सदस्य र सांसद पनि हुन् । संसदमा सम्बोधन गर्ने, पार्टीका कार्यक्रममा बोल्नेबाहेक आरजु मिडियामा त्यति आउन रुचाउँदिनन् । तर यसपटक भने उनले आफ्ना कुरा स्पष्टसँग जनतासमक्ष राख्न टेलिभिजन र अनलाइन मिडियामै अन्तर्वार्ता दिएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सहभागी गिरोहले आफ्नो पनि नाम मुछेको र सिंगापुर भागेको आरोप लागेपछि आरजु मिडियामा आउन बाध्य भएकी हुन् । काठमाडौंमै रहे पनि उनी सिंगापुर पुगेको भन्दै प्रचार गरिएपछि आरजुले शुक्रबार पत्रकारहरूलाई घरमै बोलाएर अन्तर्वार्ता दिएकी थिइन् । उनले आफू भ्रष्टाचारमा संलग्न नभएको भन्दै उनले अरु देश जानुको अर्थ नभएको बताइन् ।
शनिबार राति नेतृ देउवाले हिमालय टेलिभिजनमा लामो अन्तर्वार्ता दिएकी छन् । उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै आफूमाथि लागेको आरोपको खण्डनसमेत गरिन् । आरजुले पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको संलग्नताबारे आफूसँग कुनै सम्बन्ध नरहेको बताइन्। उनले मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारिन्।
‘भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र रु’’, उनले प्रतिप्रश्न गरेकी छन् । उनले छोरा जयवीरको कसम खाँदै भनिन्, ‘मेरो आत्मा होइन मेरो छोरो जयवीरकै कसम खाएर म भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खा छैन।’
यस घटनामा सबै दोषी कारबाहीको दायरामा आउनुपर्ने उनले बताइन्। केही दिन अगाडि सामाजिक सञ्जालमा नक्कली शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणको समेत नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो। उनले सो अडियो सार्वजनिक गर्नेमाथि कारबाही गर्न साइबर ब्युरोमा उजुरी नै दिएकी छन् ।












