१. विचार सबैभन्दा सूक्ष्म र प्रभावकारी शक्ति हो । मान्छेले प्राप्त गर्ने ज्ञानको स्रोत पनि विचार नै हो । व्यक्ति व्यक्तिलाई जोड्ने तत्व पनि विचार हो । समय र स्थानका कारणले अलग अलग रहेका सत्ता र वस्तुबीच सम्पर्क गराउने पनि विचार नै हो । एक ठाउँ र एक युगका मानिसलाई मात्र होइन, अनेकौँ स्थान र युगौँयुगका मानिसलाई विचारले नै जोड्ने गर्दछ ।
२. विचार एक महत्वपूर्ण स्थायी सत्ता हो, ब्रह्माण्डको प्रकटीकरण र बुद्धिको आधारशिला हो, जसको सिर्जनात्मक प्रज्ञाशीलता, ध्वंसात्मक क्षमता र वस्तुलाई सुधार्ने, सच्याउने गुणले गर्दा जीवनलाई सम्भव बनाउँछ । विचार सार्वभौमसत्ता हुनाले नै हरेक मान्छेका पछाडि विश्वव्यापी विचारको आड छ ।
३. विचारले गर्दा नै मानिसले प्रकृतिमा निहित असङ्ख्य तत्वहरुको सूचना प्राप्त गर्न सक्दछन् । आफ्नो ज्ञानको स्तरलाई बढाउन सक्दछन् । वस्तुलाई आफ्नो विवेक र अभिरुचि अनुसार सुधार्न, सच्याउन र प्रयोग गर्न सक्दछन् । जीवनलाई सभ्य, समुन्नत, सुखी र शान्त बनाउन सक्दछ । मानिसको खुसी र सन्तुष्टि सुन्दर र स्वस्थ भावनाका उपज हुन् ।
४. शान्ति पनि मानिसकै विचारको उपज हो र युद्ध पनि मानिसकै विचारको परिणाम हो ।
५. ज्ञान मानिसको विचारकै केन्द्रीयतामा उत्पन्न भएको हुन्छ । ज्ञानले मानिसका आफैभित्रका पुराना विचारहरुलाई परिष्कार गर्दछ उत्तरोत्तर परिपक्व, विश्वसनीय र गतिशील बनाउन प्रेरित गर्दछ । ज्ञान मानवीय अन्तः संस्कारका रुपमा रहेको हुन्छ ।
६. सामान्यतया मानिस भावुक हुन्छ । विविध आवेग–संवेगहरु क्षण–क्षणमा प्रकट भइरहन्छन् । शिक्षाद्वारा भावनाको गोडमेल गरिएन भने मान्छे अश्लिल र विकृत सोचाइ, खराब र हानिकारक अभ्यासतिर उन्मुख हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













