पोखरा, २५ वैशाख । पोखरा–३१को बेगनास तालमा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले दिनुभयो । मृतक भण्डारीले बोकेको परिचय पत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनकारी दिएको छ ।
मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शल्य परीक्षणको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
परिचय पत्रको आधारमा मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ । उत्तः घटनाको बारेमा अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । ‘तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्म हत्या हो । वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौं’ प्रवक्ता विकले भन्न्ुभयो ।













