राम्रा कुरा या नराम्रा कुराको प्रश्न छैन । कुरा गर्नु नै संसार हो । आत्म चिन्तन गर्ने, शून्य मनका बारेमा संवाद गर्ने मित्र प्राप्त भए जीवनको सौभाग्य हो । परन्तु यो दुर्लभ छ । त्यसो हुँदा मौन रहने, ओम् गर्ने तथा श्वासमा एकाग्रताको अभ्यासमा सबै समय सब स्थानमा यही सही साधनामा ध्यान दिनु सार्थक हो ।
जो सबै प्रपञ्च छोडेर एकान्तमा शान्त रहन सक्तैन, उसले अध्यात्ममा प्रगति गर्न गाह्रो पर्छ । कुराकानी नगरे पाँच या दशजना वा सयजना जम्मा भए पनि एकान्त नै हुन्छ । मन अशान्त छ र यताउताका देवीद्यौताको मन्दिरमा दौडिनु धार्मिक समाचार पढेर मन लगाउनुप¥यो भनी एक्लै बसे पनि विचार र कल्पनाको भीड भइहाल्छ ।
मिथ्याको विश्वास र अनावश्यक व्यवहारमा अल्झिनु आत्मज्ञानमा बाधा हो । सङ्कल्प नै कर्म हो, सङ्कल्पको सिद्धि या असिद्धिबाट प्रतिकर्म प्राप्त हुन्छन् । भिन्न भिन्न प्रतिकर्मबाट अनेक उपकर्म, व्यर्थकर्ममा प्रवृत्ति हुन्छ ।
सङ्कल्प कर्म हो, भिन्न भिन्न सङ्कल्पको सिद्धिका लागि प्रवृत्ति प्रतिकर्म हो, प्रतिकर्मबाट उत्पन्न हानिलाभ, स्वल्प–अधिक, ह्रस्व–दीर्घ आदि जो कालको व्याप्ति हो, त्यसका निराकरणका लागि लोभ, मोह र स्वार्थका प्रेरणामा गरिने अनित्य र मिथ्याका अनुगमनहरूबाट धेरै उपकर्म (परिवार, समाज, संस्कृति, प्राकृतिक परिवेश, प्राकृतिकधर्म, परिग्रह, सर्वदाका लागि) ले जन्म लिन्छन् । उपकर्मको जन्म अज्ञान र लोभबाट हुन्छ ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट












