सास गन्हाउने समस्या एउटै मात्र कारण हुँदैन । मुखको दुर्गन्धको कारण दाँत तथा मुख मात्र नभई शरीरका अन्य समस्याको कारण पनि हुनसक्छ । मुखबाट निस्किने दुर्गन्ध आफूलाई महसुस हुने र अरूलाई महसुस हुने दुवैथरी हुनसक्छ । यो विभिन्न प्रकारको गन्ध हुनसक्छ ।
सही तरीकाले दाँत नमाझेको खण्डमा दाँतमा ब्याक्टेरिया जम्मा हुन थाल्छ । जसकारण मुखमा संक्रमण भई मुखबाट गन्ध आउने गर्छ । गिजाको समस्याका कारण पेरिओडोन्टिक नामक रोग लाग्ने गर्छ । जुन मुख गन्हाउने समस्याको कारण बन्न सक्छ तर मुख र दाँत सफा हुँदा पनि मुखमा गन्ध आउने समस्या हुन्छ भने त्यो गन्ध चाहिँ अन्य स्वास्थ्य समस्या जस्तै साइनसको समस्या, मिर्गौलाको समस्या, पेटको समस्या र मधुमेहको समस्याका कारण पनि आएको हुन सक्छ । सामान्यतया घरैमा पनि केही जडीबुटीको प्रयोगबाट पनि मुखबाट आउने गन्धलाई हटाउन सकिन्छ ।
– पुदिनाको कमलो हाँगा सुकाई पिँधेर बनाइएको पाउडरमा थोरै नून मिलाएर दिनमा तीनचोटी कुल्ला गर्नाले मुख गन्हाउँदैन ।
– एक कप पानीमा एकएक चम्चा सुप र अलैँची राखी उमाल्ने र पिउने गर्नाले वा अलैँची सुपलाई मुखमा राखी चुसिरहनाले मुख गन्हाउँदैन ।
– एक चम्चा दालचिनीलाई मसिनो टुक्रा पारी पानीमा भिजार उमाल्ने अनि उक्त पानीले बारम्बार कुल्ला गर्नुको साथै मुखमा दालचिनी र सुपलाई राखेर चुसिरहनाले मुखको दुर्गन्ध हट्दछ ।
– कागती मिलाएको पानीले मुख कुल्ला गर्नाले मुखमा सुगन्ध फैलिन्छ ।
– सुकमेलयुक्त मनतातो पानीले कुल्ला गर्ने, सुकुमेल मुखमा राखेर चुस्नाले मुखको नराम्रो गन्ध हट्दछ ।













