पोखरा, गण्डकी प्रदेश सभाको अधिवेशन वैशाख २१ प्रदेश सभा भवनमा शुरु हुने भएको छ । तीन दिन अघि मात्र मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले सोही दिन विश्वासको मत लिने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले आइतबार एक विज्ञप्ति मार्फत २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले वैशाख १५ गते प्रदेश प्रमुख गुरुङसँग शपथ ग्रहण गरेका थिए । सपथ ग्रहणसँगै पाण्डेले २ जना बीना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र स्वतन्त्रबाट निर्वाचित भइ पछि एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै आएका छन् ।













