काठमाडौँ । अमेरिकी पत्रकार, लेखक र स्तम्भकार जीन क्यारोलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई लक्जरी डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोप लगाएकी छन् ।
क्यारोलले सन् १९९६ मा ट्रम्पले आफुलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।
अदालतमा बयान दिने क्रममा उनले भनिन्- ‘म यहाँ छु किनभने ट्रम्पले मलाई बलात्कार गरे, र जब मैले यसको बारेमा लेखे, उनले यसलाई अस्वीकार गरे । तिनीहरूले झूट बोले र मेरो प्रतिष्ठा बर्बाद गरे। म यहाँ मुद्दा लड्न र आफ्नो प्रतिष्ठा र जीवन फिर्ता लिन आएकी हुँ ।’
क्यारोलले सन् १९९६ मा आफूमाथि भएको कथित बलात्कारबारे अदालतमा बयान दिंदा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा उक्त कुरालाई ‘नक्कली र झुटो कथा’ भनेका थिए । ट्रम्पको यी टिप्पणीलाई ध्यानमा राख्दै न्यायाधीशले आफ्ना वकिललाई यस्तो गर्नाले पूर्व राष्ट्रपतिको कानुनी समस्या बढ्न सक्ने चेतावनी दिएका थिए ।
क्यारोलले अदालतलाई १९९६ मा एक साँझ बर्गडोर्फ गुडम्यानमा ट्रम्पलाई एक डिपार्टमेन्ट स्टोरमा भेटेको र ट्रम्पले महिलाको चेन्जिङ रूममा बलात्कार गरेको बताएकी छन् ।
उनले दशकौंसम्म आफ्ना दुई साथीहरू बाहेक कसैलाई नभनेको बताएकी थिइन् । ट्रम्पले आफूलाई बदला लिने डरका कारण नबताएको बताउदै उनले यो आफ्नो गल्ति भएको बताएकी छन् । क्यारोलले ‘मी टु’ अभियानपछि आफ्नो कुरा राख्न सहज भएको बताउदै अदालतबाट न्याय पाउने आशा व्यक्त गरेकी छन् । ट्रम्पले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएका छन् । यस अघि पोर्न स्टारलाई चुप लाग्न पैसा दिएको आरोपमा ट्रम्पलाई अदालतले दोषी ठहर गरिसकेको छ र उनको मुद्धा अदालतमा चलिरहेको छ ।













