काठमाडौँ । साउदी अरबले लगातार आफ्नो अर्थतन्त्रलाई कच्चा तेलबाट पर्यटनतर्फ परिवर्तन गर्ने दिशामा काम गरिरहेको छ । यसैक्रममा साउदी अरबले एउटा मेघा परियोजनाको मोडल डिजाइन सार्बजनिक गरिएको छ ।
साउदीले लाल सागरको उजाड टापु शुशाह आइल्याण्डमा सुपर लक्जरी रिसोर्ट बनाउने भएको छ । साउदी अरेबियाको ५०० बिलियन डलरको निओम परियोजनाको एक हिस्साको रुपमा शुशाह टापुमा ६५० फिट अग्लो होटल बनाइने भएको छ । त्यसैगरी त्यहाँ पानीमुनि संग्रहालयहरू पनि बनाइने छ । निओम परियोजना साउदी युवराज मोहम्मद बिन सलमानको महत्वकांक्षी परियोजना हो, जसले साउदीलाई तेलको निर्भरताबाट निकालेर पर्यटनमुखी अर्थव्यवस्था निर्माण गर्ने तर्फ ठुला परियोजनामा काम गरिरहेको छ ।
यस अविश्वसनीय परियोजनामा काम पहिले नै सुरु भइसकेको छ, जसमा शहर एक लाइनमा हुनेछन् । यद्यपि लाइन परियोजना यो विशाल परियोजनाको एक हिस्सा मात्र हो । अब शुशाह टापुका नयाँ तस्बिरहरूले भविष्यका लागि पर्यटकहरूलाई आकर्षित गर्ने आफ्नो महत्वाकांक्षा प्रकट गरेको छ । साउदी अरेबियाले सन् २०१९ देखि पर्यटकलाई अनुमति दिन थालेको छ । तर अहिले साउदीले पर्यटकका लागि लाल सागरको विकास गरिरहेको देखिन्छ । हाल शुशाह टापु २५० एकर खाली ठाउँ रहेको छ ।
उक्त टापुमा रिसोर्ट बनाउने योजना रहेको मोडल तस्विरमा देखिन्छ ।
निओम र किंग अब्दुल्लाह युनिभर्सिटी अफ सांस एण्ड टेक्नोलोजीका अनुसार यस आइल्याण्डमा कोरल गार्डेन २०२५ सम्म निर्माण सम्पन्न हुने बताए पनि यस आइल्याण्डको यो पुरै परियोजना कहिलेसम्म सम्पन्न हुन्छ भन्ने बारेमा भने स्पष्ट गरेको छैन ।
यस टापुमा डुङ्गाबाट जान सकिने र दुईवटा विमान पनि यहाँ रोक्न सकिने गरी निर्माण गरिने भएको छ । यो रिसोर्ट विश्वका धनाड्य वर्गका लागि लक्षित गरेर निर्माण गर्न लागिएको छ । यो योजना पूरा भएमा पर्यटकहरुसँग धेरै विकल्प हुनेछन् । टापुमा आइपुगेपछि उनीहरूसँग ३०० कोठाको ६०० फिट लामो होटेल, लक्जरी बुटिक होटेल वा भिला अपार्टमेन्टमा बस्ने विकल्प हुनेछ ।
यो टापु शानदार कोरल चट्टानहरूको घर हो । तिनीहरू रिसोर्टको केन्द्रबिन्दु बन्नका लागि तिनीहरूलाई नवीकरण गर्ने योजनाहरू पनि छन् । आगन्तुकहरूले पानीमुनिको संसार हेर्न सक्ने गरी पानीमुनि संग्रहालय पनि बनाइनेछ ।












