द्वन्द्वग्रस्त सुडानबाट बेलायतले चार वटा उडानमार्फत ३०१ जनालाई उद्धार गरेको बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले बुधबाार बताएका छन्।
उहाँले पत्रकार सम्मेलनमा भने, सुडानबाट बुधबार मात्र ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरेको छ। सरकारले व्यवस्था गरेको थप चार उडानहरू बुधवारको अन्त्यसम्ममा सुडानबाट प्रस्थान गर्नेछन्।
सुडानको राजधानी खार्तूम र अन्य स्थानमा अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक र्यपिड सपोर्ट फोर्सेज ९आरएसएफ०बीच हिंसात्मक झडप भएको थियो। मङ्गलबार ७२ घण्टे युद्धविरामका लागि दुवै पक्षले सहमत भएका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अशान्ति सुरु भएयता अहिलेसम्म ४०० भन्दा बढीको मृत्यु भएको छ भने तीन हजारभन्दा बढी घाइते भएका छन्।
यस पहिले सुडानबाट अमेरिका, क्यानाडा, फ्रान्स, जर्मनी, साउदी अरबलगायत एशियाली मुलुकका नागरिकहरूलाई पनि ती मुलुकले उद्धार गरेका थिए भने उनीहरूले थप उद्धार कार्य जारी राखेको जनाएका छन्। अन्य देशले जस्तै बेलायतले मङ्गलबारदेखि आफ्ना नागरिकलाई ठूलो मात्रामा सुडानबाट उद्धार गर्न शुरु गरेको हो।
बेलायती सरकारले उत्तरपूर्वी अफ्रिकी देशमा करिब चार हजार बेलायती राहदानीबाहकहरू फसेको अनुमान गरेको छ।











