हृदयरोगमा शङ्का हुनेले अमलाको अम्मल गर्नु अति राम्रो मानिएको छ । पाकेको अमला त्यसै खाने वा अमला सुकाएर साँझ बिहान २–२ चम्चा पानीसित खानाले फाइदा गर्दछ ।
कमजोरी हुने, डर लागेजस्तो हुने र मुटु धड्केजस्तो अनुभव हुनेले खरीको बोक्रो, सुठो, कपुर, पिप्ला, बोझो र हर्राेको बोक्रो मिसाएर धुलो बनाउने र साँझ बिहान करिब एक ग्रामको दरले ७ दिन जति खाने गरे फाइदा हुन्छ ।
लौकाको झोल साँझ बिहान १/१ गिलास खाने गर्ने वा तरकारी खाए पनि फाइदा गर्दछ ।
वास्तवमा मुटु एउटा मेसिनजस्तो हो । मेसिन नचले खिया लाग्छ , बढी चले तातेर बिग्रन्छ । अतः ठीक हालतमा राख्नु नै यसको उपचार हो । त्यसको लागि उचित व्यायाम, योगासन, (स्वास्थ्य ठीक भएको बेलामा मात्र यी काम गर्नुपर्छ । रोग लागेको बेलामा आरामको जरुरत पर्दछ ।) सन्तुलित आहारविहार, साँझ बिहान पैदल भ्रमण गर्ने । ज्यादा चिल्लो, पिरो, अमिलो, धुम्रपान, मद्यपान, अरिपरिश्रम आदि त्याग गर्नु नै हृदयरोगीको लागि हितकार हुन्छ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













