काठमाडौं । आकर्षक आम्दानी र योजना देखाई चार दर्जनभन्दा बढीसँग ५५ लाख ठगी गर्ने भिजन ड्रिमरीकी सञ्चालक जुनुकला राई पक्राउ परेकी छिन् । प्रहरीले उनलाई ५० जनालाई ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो ।
राईले विभिन्न प्रलोभन देखाई रकम तिर्न बाध्य पारी सदस्यता दर्ता गराएर ५० जनाबाट करिब ५५ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।
सुनसरी धरान १७ स्थायी ठेगाना भएकी ३५ वर्षीया राई हाल काठमाडौँमा बस्दै आएकी थिइन् । उनले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरु उत्पादन तथा बिक्री वितरण गर्ने गराउनेसम्बन्धी इजाजतपत्रको स्विकृतिसमेत लिएर सो धन्दा गर्दै आएको प्रहरीले जनाएको छ । १६–२५ बर्ष उमेर समूह युवायुवतीलाई आकर्षक आम्दानी र योजनाहरु देखाई न्यूनतम ११ हजार ३०० देखि अधिकतम पाँच लाखसम्म तिरी सदस्यता लिन लगाएकी थिइन् ।
चारजना सदस्य बनाएबापत लगानी रकम फिर्ता हुने आश्वासनमा बालबालिकालाई ठगी गर्दै आएको उल्लेख गरिएको छ । यदि सदस्यता बनाउन नसकेको अवस्थामा कम्पनीबाट गुणस्तर परीक्षण नभएका उत्पादित सामाग्री बजार मूल्यभन्दा महँगोमा बिक्री(वितरण गर्न सकेको अवस्थामा मात्र लगानी फिर्ता हुने आश्वासनमा नागरिकमाथि ठगी गरेको जनाइएको छ ।
कम उमेर समूहका युवायुवतीलाई नेटवर्किङ व्यवसायसम्वन्धि तीन दिने प्रशिक्षण दिएर ठूलो मात्रमा रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले कम उमेरका बालबालिकालाई विभिन्न प्रलोभन देखाएर १४ जनाबाट १७ लाख ३ हजार चार सय र अन्य ३६ जनाबाट ३८ लाख १९ हजार चार सय रुपैयाँ बराबरको ठगी गरेको प्रहरीले जनाएको छ । राईविरूद्ध ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













