लन्डन । प्रशिक्षक बिनाको चेल्सी इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको छ।
स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीको नेतृत्व कार्यबाहक प्रशिक्षक बु्रनो साल्टरले सम्हालेका थिए । यता योर्गन क्लोपले आफ्नो टिम लिभरपुलमा ६ परिवर्तन गरेपनि गोल भने गर्न सकेनन् ।
तुलनात्मक रुपमा चेल्सीले गएरातिको खेलमा राम्रो अवसर पाएको थियो । माटियो कोभासिचले गरेको प्रहारलाई इब्राहिमा कोनाटेले क्लियर गरी दिएका थिए । काई हाभेर्टजले गरेको पहिलो प्रहार एलिसोन बेक्करले बचाएका थिए भने अर्को गोलले मान्यता पाएन । रिस जेम्सको पनि मुभ अफसाइड सावित भएको थियो ।
योर्गन क्लोपले मोहम्मद सल्लाह, ट्रेन्ट एलेक्जेन्डर आर्नल्ड र एन्डी रोबर्टसनलाई विश्राम दिएका थिए । यद्यपि उनको नयाँ टिमले पनि कुनै गतिलो मुभ बनाउन सकेन ।
जारी सिजन तेस्रो प्रशिक्षकको खोजीमा रहेको चेल्सीको २९ खेलबाट ३९ अंक छ । यता निकै कठिन परिस्थितिबाट गुज्रिरहेको लिभपुरलको २८ खेलबाट ४३ अंक छ । लिभरपुल ८ औँ स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा रेलिगेसन ब्याटलमा रहेको लिड्सले नटिङगम फरेस्टलाई दुई – एक गोलले हरायो । लेस्टर सिटी एस्टोन भिल्लासँग दुई – एक गोलले पराजित भयो । यता बर्नमाउथले ब्राइटनसँग दुई – सून्य गोलको पराजय व्यहोर्यो ।













