– दूध कहिल्यै पनि अन्य वस्तुसँग मिसाएर खानुहुँदैन । दूधसँग अण्डा, केरा, हर्लिक्स खाने प्रचलन कदापि स्वस्थकर होइन । जो व्यक्ति यस नियमविपरित दूध सेवन गर्छ, उसको प्रोटिन पचाउने सिस्टम क्षतिग्रस्त हुन जान्छ ।
– फलको रस अन्य वस्तुसँग नमिसाई सेवन गरे सुपाच्य र पूर्णपोषित हुन्छ । त्यसले फुड पोइजनिङ, फूड इरिटेसन, फुड एलर्जी तथा अपच, अजीर्ण, ग्यास्ट्राइटिस हुन दिँदैन । कफी, चिया, सफ्टड्रिङ्क्स, या जाँडरक्सीसँग जुस मिसाएर पिएमा त्यसले पाचन प्रणालीमाथि नराम्रो क्षति पु-याउँछ ।
– तरल पेय पदार्थहरु, जस्तैः चिया, कफी, सफ्ट ड्रिङ्क्स, रक्सीजन्य पेयहरु कहिल्यै पनि ठोस खानेकुरासँग लिनु हुँदैन । चिया, कफीसँग बिस्कुट, ब्रेड तथा नास्ता गर्ने, कोल्डड्रिङ्क्स या वाइनसँग ठोस स्न्याक्सहरु खाने गर्नु स्वास्थ्यविज्ञानको दृष्टिले पूर्णतः अवैज्ञानिक मानिन्छ । आफै सोच्नुहोस्, विभिन्न जटिल घटकहरु मिलेर बनेको तरल पेय र ठोस वस्तु सँगै खाँदा तरल पेयले मुखदेखिको पाचक इन्जाइमहरु बगाएर पेटको तल्लो भागमा एकत्र गरिदिन्छ । जसले गर्दा पेटको पच्ने सिलसिला नै अवरुद्ध हुन जान्छ । आज जसरी पेटैपिच्छे ग्यास्ट्रिक र घरैपिच्छे घातक रोगहरु बढिरहेका छन्, यसको कारक खानपिनको यस्तै गलत मिश्रण हो ।
– चिल्लो खानेकुराः तेल, वनस्पति घिउ, बोसो या अन्य रिफाइन्ड तैलीय पदार्थमा तारेको, भुटेको तथा पकाएको खानेकुरा अरु प्राकृतिक स्वरुपको खानेकुरा या तरल वस्तुसँग मिसाएर एकसाथ खान हुँदैन । चिल्लो तत्व पच्नलाई पेटले धेरै कसरत गर्नुपर्छ । यस्तो खाना ढिलो गरी पच्दछ । किनकि चिल्लो खाद्यवस्तुले पेट, आमाशय तथा पाचक इन्जाइमको क्रियाशीलता क्षीण गरिदिन्छ । यसले पेटको ५०% पाचक शक्ति घटाइदिन्छ । त्यसैले, पुरी, सेल रोटी, समोसा, कचौडी, प्याजी, पकौडा या अरु तारेको कुरा खानु परेमा सोही चिज मात्रै खाने गर्नुपर्छ । अन्यथा, त्यसबाट ठूलो हानी पुग्न सक्छ । भनिन्छ, चिल्लोमा तारेको र पटकपटक तताएको चिल्लो खानेकुराहरु जाँडरक्सी र चुरोट खैनीभन्दा पनि हानिकारक हुन्छन् ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













