१) जति गहिराइमा दृष्टि पु¥याउँछौ, त्यति नै हामी कायल हुन्छौँ कि एउटै कुराको सधैँ कमि छ । सर्वप्रथम जुन कुरा प्राप्त गर्न अति आवश्यक छ— त्यो हो शक्ति, शारीरिक, मानसिक र नैतिक शक्ति । तर सर्वाेच्च स्थानमा छ आध्यात्मिक शक्ति, जो अन्य सबै शक्तिको एकमात्र अनन्त र शाश्वत स्रोत हो ।
२) स्वयम्माथि विश्वास गर्ने आदर्श नै हाम्रो सबभन्दा ठूलो सहायक हो । सबै क्षेत्रमा यदि आफूमाथि विश्वास गर्न सिकाउने हो भने र त्यसको निरन्तर अध्यास गराउने हो भने, मलाई यो पूर्ण विश्वास छ कि हाम्रा दोष र दुःखहरुको ज्यादै ठूलो भाग आजै समाप्त हुनेछ ।
३) मानव जातिको आजसम्मको इतिहासमा यदि कुनै महापुरुष र नारीको जीवनमा सबभन्दा ठूलो निर्माण शक्ति केही छ भने त्यो आत्मविश्वास नै हो । आजन्म यही विश्वास भएको कारणले नै ती महान् हुनका लागि जन्मिए र ती महान् पनि भए ।
४) बाल्यकालदेखि नै आफ्नो मस्तिष्कमा दृढ निश्चय र सहयोगी विचारलाई प्रवेश गराऊ । स्वयम्लाई ती विचारप्रति उन्मुख राख । कमजोर तथा अकर्मण्य बनाउने विचारलाई मनमा बास नदेऊ ।
५) विश्वका समस्त शक्ति हाम्रा हुन् । हामीले आफ्नै हातले आँखा छोपेर चिच्याउँछौ कि सर्वत्र अँध्यारो छ । यो बुझ कि आफ्ना हात हटाएर जब हेर्छाै तिमीले त्यो प्रकाश देख्नेछौ जुन सदाकालदेखि छ । हामी मूर्ख छौँ र सधैँ चिच्याउँछौ कि हामी कमजोर छौँ, अपवित्र छौँ, जुन ठीक होइन ।
६) कर्म गर्नु ज्यादै असल हो तर कर्म विचारबाट आउँछन् त्यसैले आफ्नो मस्तिष्कलाई उच्च विचार र आदर्शले भरिपूर्ण राख, त्यसलाई अहोरात्र आफ्नै अगाडि राख । तिनैबाट महान् कार्यको जन्म हुन्छ ।
७) तिमी आफ्नो जिवाणुकोषको अवस्थादेखि लिएर यस मनुष्य शरीरसम्मको अवस्थाको निरीक्षण गर, यो सबै कसले ग¥यो ? तिम्रो आफ्नो इच्छाशक्तिले । इच्छाशक्ति नै सर्वशक्तिमान छ । के तिमी यसलाई अस्वीकार गर्न सक्छौ ? जसले तिमीलाई यहाँसम्म ल्याईपु¥यायो अब पनि उसैले तिमीलाई अझ माथि लान सक्छ । तिमीले चरित्रवान हुनु र आफ्नो इच्छाशक्तिलाई अझ सशक्त बनाउनु मात्र आवश्यक छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













