शिवपुरी बाबाका केही अमर वाणीहरु
१) सात समुद्रको पीँधसम्म डुबुल्की मारेर मैले तीन अनुशासन रुपी तीनवटा सियो माथि लिएर आएको छु । यति थोरैले प्रभु पाइन्छ भने त्यत्रो भारलाई आफ्नो सानो टाउकोमा लिएर किन हिँड्ने ? स्वधर्म पालन गर्ने व्यक्तिले आफ्नो जीवनलाई चाहिने सम्पूर्ण कर्महरु सुनियोजित ढङ्गले बन्दोबस्त गर्दछ । शारीरिक अथवा पहिलो अनुशासन अनुसार आफ्नो कर्तव्य कर्म)हरु मात्र गर्दछ । अर्थहीन कर्महरु अकर्म गर्दैन । हानी हुने कर्महरु विकर्म छुँदै छुँदैन । अर्थात् गर्नुपर्ने काम अवश्य गर्छ र गर्न नहुने काम गर्दैन । त्यसो नगरे प्रारब्ध कमाइन्छ भन्ने कुरा उसले बुझेको हुन्छ ।
२) नैतिक वा दोस्रो अनुशासनभित्र परेका कर्तव्य–कर्महरु गर्दा स्वधर्मीले मनको वशमा परेर कुनै वस्तु वा व्यक्तिलाई मनपराउने राग वा मन नपराउने द्वेष गर्दैन । यो अनुशासन पालन गर्दा श्रीमद्भागवद्गीताको सोह्रौँ अध्यायमा उल्लेख गरिएका २६ सद्गुणहरुलाई आफ्नो जीवनशैलीमा ल्याउने कोशिष गर्दछ ।
३) आध्यात्मिक वा तेस्रो अनुशासनले प्रभु ईश्वर प्राप्त गराउँछ । शारीरिक अनुशासन ठीकसँग पालना नगरेमा बुद्धिमा दोष आउँछ, फलस्वरुप असफल भइन्छ । नैतिक मानसिक) अनुशासन ठीकसँग पालन नगरेमा आत्मा दोषी हुनपुग्छ । फलस्वरुप भय उत्पन्न हुन्छ । यी तीन दोषहरु वा अपूर्णताहरुलाई शास्त्रले तीन दुःख अर्थात् त्रिविध तापहरु हुन् भनेका छन् ।
४) पहिलो अनुशासन पालन नगरे शरीर स्वस्थ हुँदैन । शरीर स्वस्थ नभए शक्ति हुँदैन । शक्ति नभए स्वधर्ममा लागि पर्न सकिँदैन, बुद्धि पनि तीखो हुँदैन । बुद्धि तीखो नभए कर्मकुशलता आउँदैन । कर्मकुशलता नभए हात हालेको काम सफल हुँदैन । काम सफल नभए भौतिक सुख पाइँदैन । त्यस्तो असफल साधकले सत्यदर्शन जस्तो महान् उपलब्धि कसरी हासिल गर्न सक्छ ।
५) नैतिक अनुशासन पालन गरेमा नियन्त्रण शक्ति पाइन्छ । रावण अर्काकी श्रीमतीलाई देखेर नैतिक अनुशासनबाट च्युत भयो र आफूलाई नियन्त्रण गर्न सकेन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













