पोखरा, ५ चैत । पोखरा–५ धारापानी मार्गस्थित खुँडेपोखरीमा गत फागुन महिनाको ८ गते चार वर्षीय वालक सुहान केसीको खेल्ने क्रममा डुबेर मृत्यु भएको घटनालाई लिएर उक्त पोखरी वरिपरी तारबार लगाउने कार्य शुरु भएको छ ।
उक्त पोखरीमा तारबार गर्नुको साथै संरक्षण समेत शुरु गरिएको जानकारी खुँडेपोखरी संरक्षण तथा तथा उपभोक्ता समितिका अध्यक्ष अञ्जु क्षत्रीले दिनुभयो । उक्त पोखरीबाट शनिवार स्थानीय, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले जलकुम्भी झार बाहिर निकाल्नुको साथै पोखरी वरपर सरसफाइ गरेका छन् ।
पोखरा महानगरपालिका र वडा नं ५ को कार्यालयको सहयोगमा शनिबार बिहान पोखरी सरसफाइ गरिएको हो । पोखरीमा चार वर्षीय वालक सुहानको मृत्यु भएपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घटनास्थल पुगेर तत्काल पोखरीलाई जोखिम मुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
पोखरी वरवर तारबार गर्नका लागि पोखरा महानगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।‘‘यसको दीर्घकालीन उपयोग र सौन्दर्यकरणका लागि डिपिआर तयार गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना स्थानीयको रहेको छ । तारबारसँगै पोखरीको सीमाकांन समेत गछौंं ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भन्नुभयो –‘पोखरीलाई पर्यटकीय रुपमा विकास गर्ने योजना पोखरा महानगरपालिकाको छ ।’
पोखरा ५ का वडाध्यक्ष विष्णुुप्रसाद बरालले एक महिना अघि भएको मानवीय क्षतिले आफूहरुलाई सचेत गराएको बताउनुभयो । केही वर्ष अघि पनि उक्त पोखरीमा पौडीखेल्ने क्रममा वालवालिकाको मत्यु हुने गरेको थियो । तत्काल जोखिम रोक्ने गरी काम शुरु गरिएको र दुई–तीन वर्षपछि पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य वडाध्यक्ष बरालको छ ।













