काठमाडौं – नेपाली राइड सेयरीङ एप ‘सजिलो साथि’ले मोटरसाइकलमा मोबाइल होल्डर राख्न पाउनु पर्ने माग गरेको छ । हाल मोटरसाइकलमा प्रयोग हुँदै आएको ‘मोबाइल होल्डर’लाई बाइकको स्वरुप परिवर्तन भन्दै ट्राफिक प्रहरीले हटाएपछि ‘सजिलो साथि’ले राख्न पाउनु पर्ने माग गरेको हो ।
‘सजिलो साथि’ले विज्ञप्ती जारी गर्दै मोटरसाइकलमा मोबाइल होल्डर राख्न नदिंदा राइड सेयरीङ सर्भिस र राइडरहरुलाई अप्ठेरो परेको बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘हाल मोटरसाइकलमा प्रयोग हुँदै आएको मोबाइल होल्डरलाई नेपाल ट्राफिक प्रहरीले हालमा बाइक मोडिफिकेशन भनि कानूनको अपब्याख्या गरि मोटरसाइकल चालक तथा विभिन्न राइड सेयरीङबाट आफ्नो जीविकोपार्जन गरिरहेका नेपाली जनताहरुलाई लगाइरहेको अत्याधिक जरिवाना कानून संगत नभएको र राइडरहरुको काम गर्नपनि गाह्रो भएकोले यो बाइक मोडिफिकेशनका नाममा लगाइरहेको अत्याधिक जरिवाना रोक्नकोलागि सजिलो राइडर आवहान गर्दछ ।’
ट्राफिक प्रहरीले केही समय अघि मात्र मोटरसाइकलमा मोबाइल होल्डर राख्न नपाउने निर्णय गरेको थियो ।














