एक पटक कबीर ढोकामा बसेर मानिसहरुलाई उपदेश दिइरहेका थिए । त्यसै वेला एक युवकले सोधे, गुरुजी, विवाह गर्नु ठीक हो या हैन ? कबीर एक क्षणको लागि चुप भए, फेरि उनले आफ्नी पत्नीलाई बोलाएर भने, हेर त पत्नी, यो कस्तो अँध्यारो हो, बत्ती बालेर लिएर आऊ ।
पत्नी भित्र गइन् र बत्ती बालेर लिएर आइन् । यो देखेर त्यो युवकले भने, महाराज तपाईं त विलक्षण हुनुहुन्छ, तपाईंकी पत्नी पनि महान् छिन् । तपाईंले दिनलाई रात भने पनि उनी बत्ती बालेर तपाईंको स्वागत गर्छिन् । मैले यो कुरा बुझ्न सकिरहेको छैन ।
कबीर हाँसे र भने, यो केही कुरा हैन फगत तिम्रो प्रश्नको जवाफ हो । यदि एक युवक र युवतीले एकअर्कालाई यति नै प्रगाढ विश्वास गर्न सक्छन् भने उनीहरुले विवाह गर्नु ठीक छ, अन्यथा छैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













