क्यान्सर, मधुमेह, हृदयरोग, उच्च रक्तचाप र अल्जाइमर्सजस्ता रोगलाई उमेरसँग सम्बन्धित रोग (एजरिलेटेड/क्रोनिक डिजिज) भनिन्छ । यस्ता रोग सर्दैनन्, तर लागेपछि हत्तपत्त हट्दैनन् ।
अस्वस्थ वातावरण तथा खानपिन र निष्क्रिय जीवनका कारण यी रोग आज विश्व समुदायमा प्रमुख समस्या बनेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को रिपोर्टअनुसार विश्वमा ६३ प्रतिशत मृत्युको कारण क्रोनिक डिजिज (नसर्ने रोग) नै हुने गर्छ । तर, यस्ता रोगबाट बच्न भने सकिन्छ ।
उमेरसँगै शरीरमा अक्सिडेटिभ स्टे«ेस र इन्फ्लामेसन बढेर जान्छ । यसको सम्बन्ध क्रोनिक रोगसँग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । जीवन सञ्चालन र विकासका लागि हाम्रो शरीरका कोषले नियमित रुपमा वातावरणबाट पाउने अक्सिजन (२१ प्रतिशत) सँग प्रतिक्रिया गरिरहन्छन् ।
हामीले खाएको पोषक तत्व अक्सिजनसँग मिलेपछि शक्ति पैदा हुन्छ । यसो गर्दा शक्तिसँगै हाइड्रोक्सिल रेडिकल, सिन्ग्लेट अक्सिजन आदि जस्ता छोटो आयु भएका ज्यादै सक्रिय केमिकल (जसलाई फ्री रेडिकल भनिन्छ) पैदा हुन्छन् । यस्ता केमिकलको उत्पादन गामा वा यूभी रेडिएसन, धूमपान, फोहोरी वातावरणबाट पनि हुन सक्छ ।
उत्पादन धेरै हुन थालेपछि यिनीहरुले प्रोटिन, डीएनएसँग प्रतिक्रिया गरी शरीरमा नकारात्मक असर पु¥याउँछन् । यस्ता हानिकारक चीजलाई निष्क्रिय बनाउन एन्टिअक्सिडेन्ट जरुरत पर्छ । हाम्रो शरीरमा यस्ता धेरै जिन छन्, जसले शरीरलाई बाहिरी आक्रमणविरुद्ध प्रतिरक्षा गर्न इम्युन सेलहरुलाई प्रेरित गर्छन् । यस्ता जिन नाश भए हाम्रो इम्युन सिस्टम कमजोर हुन्छ । अनि हामीमा रोगको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले इम्युन सिस्टमलाई सबल बनाउनु रोगबाट बच्ने एउटा उपाय हो ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट













