शारीरिक सक्रियता घट्दै जाँदा मधुमेह रोगले आक्रमण गर्ने सम्भावना बढ्छ । नियमित हिँडडुल वा व्यायाम गर्नाले इन्सुलिनको क्रियाकलापमा सकारात्मक प्रभाव पार्छ । व्यायामका प्रकार भने आफ्नो शारीरिक अवस्थाअनुसार निर्धारण गर्न सकिन्छ । शरीरलाई सक्रिय राख्ने आ–आफ्नै काइदा हुन्छन्, यसै गर्नुपर्छ भन्ने छैन ।
नृत्य गरेर, पौडी वा अन्य खेल खेलेर र वजन उठाएर शरीरलाई सक्रिय राख्न सकिन्छ । योग, ताई ची वा साधारण हिँडडुल, करेसाबारीमा काम, घरभित्र भ¥याङमा तलमाथि गरेर पनि शरीर सक्रिय बनाउन सकिन्छ ।
विभिन्न अध्ययनअनुसार शरीरलाई सक्रिय राख्नाले रगतको ग्लुकोज अन्य तन्तुमा प्रवेश हुने प्रक्रिया बढ्छ र रगतमा ग्लुकोज घट्छ । मधुमेह रोगीहरुले व्यायाम गर्नुअघि आफ्नो खानपान र इन्सुलिनको उपचारमा बढी सतर्क हुनुपर्छ । व्यायाम गर्दा रगतमा ग्लुकोजको मात्रा घट्ने भएकोले तपाईं आफूलाई ज्यादै कमजोर र थकित अनुभव गर्न सक्नुहुन्छ । बढी शक्ति खर्च हुने व्यायाम (भारत्तोलन आदि) बाट रक्तनली र आँखामा असर पर्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि डाक्टरको सल्लाहअनुसार औषधी लिने गर्नुपर्छ ।
केही खाएर मात्र व्यायाम शुरु गर्दा राम्रो हुन्छ । मधुमेहका रोगीहरुले कठिन व्यायामभन्दा पनि योग गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ । औषधी खाइरहेका बिरामीले नियमित योग गरे जीवनको गुणस्तर (क्वालिटी अफ लाइफ) राम्रो हुन्छ । विशेष गरी श्वासप्रश्वास (ब्रेथिङ योग) र योग–निद्राले मधुमेहका बिरामीमा सकारात्मक प्रभाव पार्छ ।
साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट













