त्यो बेला भारत अँग्रेजको दास थियो । अँग्रेजहरु भारतीयसँगै उनीहरुको चाडपर्वलाई पनि घृणा गर्थे । अँग्रेजलाई डर लागिरहेको हुन्थ्यो, भारतवासी आफ्नो चाडपर्वमा भेला भएर कतै विद्रोहको बिगुल नबजाइदिऊन् । यसको लागि उनीहरु विद्यार्थीहरुबाट विशेष रुपमा सावधान रहन्थे ।
एक पटक पटनाको कलेजमा विटमोर नामका एक नयाँ हेडमास्ट आए । उनी भारतीय विद्यार्थीसँग धेरै कडा व्यवहार गर्थे । उनी कलेजमा आएको धेरै समय भइसकेको थियो । दीपावली चाड आयो । सबै विद्यार्थीले सोचे, यसपटक मिलेर दीपावली मनाउने र कलेजमा पनि बत्ती बाल्ने । जब उनीहरु हेडमास्टरकोमा यसको अनुमति माग्नको लागि गए तब उनले कड्केर भने, बिल्कुलै हुँदैन, दीपावलीमा
तिमीहरुको विशेष परीरक्षा हुनेछ । जो विद्यार्थी अनुपस्थित रहनेछ त्यसलाई कलेजबाट बाहिर निकालिनेछ । सबै विद्यार्थीहरु यस्तो कुरा सुनेर चुपचाप भए । अँग्रेज हेडमास्टरको विरोध गर्ने साहस उनीहरुमा थिएन । तर त्यसै वेला एक विद्यार्थी अगाडि बढे र भने, सर म यो परीक्षा बहिष्कार गर्छु ।
तिम्रो यत्रो हिम्मत ? हेडमास्टर गर्जिए र त्यो विद्यार्थीमाथि १०–१२ लठ्ठी वर्षाए तर जब ती विद्यार्थी आफ्नो निर्णय फेर्न तयार भएनन् तब गोरा हेडमास्टरले भने, यो विद्यार्थीले कुनै दिन ठूलोभन्दा ठूलो शक्तिलाई पनि डगमगाउनेछ । ठीक छ तिमीहरुलाई यसको अनुमति दिइनेछ । ती छात्र थिए, जयप्रकाश नारायण, जसलाई लोकनायक भनिन्छ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट











