मुलुक अधोगतिमा लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोगाउन राजनीतिक दलसंग सहकार्यको प्रस्ताव राखे पछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा शनिबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन भनेका छन ।
पूर्वराजा शाहले दलहरुसंग राखेको सहकार्यको प्रस्तावलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजासंग पुरनौ धङधङी रहेको भन्दै टिप्पणी गरेका छन । संघीय गणतन्त्रमा विश्वास गर्ने नेताहरुले राजसंस्थाको आयु १५ वर्ष अघि नै सकिएको भन्दै उनलाई राजसंस्था फर्काउने सपना नदेख्न सचेत गराएका छन् ।
वक्तव्य मार्फत पूर्व राजा शाहले दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान, सार्वभौमिकता चिरा पर्न थालेको, कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको दाबी गरेका छन । गणतन्त्र स्थापना पछि सिमित कार्यक्रममा मात्रै देखिने पूर्व राजा शाह पछिल्ला दिनमा भने सक्रिय देखिन्छन ।
गत हप्ता मात्रै मेडिकल व्यवसायी समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियानलाई झापामा उद्घाटन गरे । गणतन्त्र प्रति जनताको निराशा बढ्दै गएको मौका छोपेर पूर्व राजा शाहले भित्रि तयारी गरेरै अघि बढेको कतिपयको बुझाई छ । त्यसैले देशको दुरगामी हितका लागि भए पनि राजसंस्थासंग साहकार्य गर्न आवश्यक रहेको राप्रपाका नेताहरुको बुझाई छ ।
मुलुकमा २ सय ५० वर्षिय राजसंस्थाको अन्त्य भएर गणतन्त्र स्थापना भएको १५ वर्ष मात्रै भएको छ । तर राजनीतिक दलहरुले सत्ता हत्याउन अनेक हरकत देखाउँदा लामो संघर्ष र त्यागबाट ल्यायको व्यवस्था माथी जनतामा चरम नैशाश्यता बढ्दै गएको छ । त्यसैले पनि बेला बेला राजधानी काठमाडौं सहित देशका विभिन्न स्थानमा राजा आउ देश बचाउ जस्ता नाराले स्थान पाउँछ ।
देशको दुरगामी हितका लागि हिन्दु राष्ट्र, संघीयता खारेजीको मुद्दा उठ्दा एकथरीले नेपालमा ’कुनै न कुनै खाले राजसंस्था फर्कन सक्ने’ दाबी गर्छन । तर संघीय गणतन्त्रमा विश्वास राख्ने राजनीतिक दल र नेताहरुले भने अब नेपालमा कहिल्यै राजसंस्था नफर्कने दाबी गर्ने गरेका छन् ।













