पोखरा, १ फागुन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रथम र दोस्रो विश्व युद्धमा मारिएका ८० हजार नेपालीको खोजी हुनुपर्ने माग गरेको छ । संघले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष पदम बहादुर गुरुङले ब्रिटिस सैनिकको तर्फबाट विश्वयुद्धमा लड्दा मारिएका ८० हजार नेपालीको खोजी हुनुपर्ने माग गर्नुभएको हो ।
प्रथम र दोस्रो युद्धमा जातीय नरसंहारबाट ८० हजार नेपाली नागरिकले ज्यान गुमाउँदा नेपाल सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ । उनीहरुको न खोजी भएको छ न त उनीहरुका परिवारले कुनै क्षतिपूर्ति नै पाउन सकेका छन् ? गुरुङले प्रश्न गर्नुभयो । नेपालको संविधान र असंलग्न परराष्ट्र नीति विपरीत नेपाली भूमिमा क्याम्प राखेर नेपालीलाई बहुराष्ट्रिय सेनामा पठाउने काम तत्काल बन्द गरी नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन अध्यक्ष गुरुङले नेपाल सरकारलाई आग्रह गर्नभएको छ ।
संघका अध्यक्ष पदमबहादुर गुरुङले वेपत्ता पारिएका नेपालीहरूको स्मरणमा गेसेले स्याङजाको फेंदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माण गर्दै गरेको स्मारकलाई ब्रिटिस सरकारको आदेशमा नेपाल सरकारले रोकेको भन्दै आक्रोस समेत व्यक्त गर्नुभएको छ । राज्यकोष र भूपू सैनिकहरूको करोडौं लगानीलाई सरकारले औचित्यहिन बनाइदिएको उहाँको भनाइ छ । नेपाल र नेपालीलाई सधैभरि अस्थिरता बनाउने काम ब्रिटिसले गरेको भन्दै त्यस्तो कार्य सह््य नहुने भनाई गुरुङको थियो ।
बेलायती सेनामा कार्यरत गोरखाहरूलाई श्रम शोषण गरेको अभियोगमा ‘रोयल कोर्ट अफ जस्टिस’ मा मुद्दा दर्ता भएपछि गेसोले सो मुद्दा जितेको थियो । सन् २००८ सेप्टेम्बर ३० बाट गोरखाहरूलाई बेलायती सेनामा समायोजन गरिएको थियो । नेपाली सेनाहरुले पनि ब्रिटिस नागरिक सैनिक सरह सेवा सुविधा पाउनुपर्ने माग गेसोले उठाउँदै आएको छ ।











