भैरहवा– लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी ९आइसिपी० निर्माणको बाटो खुलेको छ ।
आइसिपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । त्यसका लागि संघीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते संघीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एन्ड सन्स, लखनउलाई आइसिपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ ।
यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङका रूपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको छ । ठेक्काको अन्तिम कामका लागि फाइल काठमाडौँ पठाएको र अबको १ साताभित्रै भारतबाट मेसिन ल्याई काम सुरु गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि इरसाद अहमदले जानकारी दिए ।
करिब १५ वर्षअघि नै नेपालतर्फ जग्गा अधिग्रहण गरिए पनि आइसिपी निर्माणको काम अघि बढ्न सकेको थिएन । नेपालतर्फ ठेक्काका लागि काम सुरु हुने निश्चित भए पनि भारततर्फ भने ठेक्का लाग्न सकेको छैन । यद्यपि, भारतीय पक्षले पनि जग्गा अधिग्रहण गरी पर्खाल लगाउने काम भने गरिरहेको छ ।
आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आइसिपीको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जलगायत चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो ।
यीमध्ये वीरगन्ज आइसिपी निर्माण भई सञ्चालनमा आइसकेको छ भने नेपालगन्जमा निर्माणाधीन र भैरहवामा निर्माण हुने अवस्थामा पुगेको हो ।
आइसिपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ ।
सबै आइसिपी भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो । यसर्थ भैरहवामा निर्माण गर्न भारतीय निर्माण कम्पनीले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रूपैयाँमा निर्माणको काम पाएको संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयका आयोजना प्रमुख विदुर खड्काले जानकारी दिए ।
भारतीय ठेकेदारले २ वर्षभित्र निर्माण सम्पन्न गरी नेपाली पक्षलाई बुझाउनुपर्ने शर्त छ । ३५ दशमलव ११ हेक्टरमा फैलिएको आइसिपीमा आयाततर्फ ६९२ र निर्याततर्फ २७० वटासम्म ट्रक पार्किङ गर्न मिल्ने छ । आइसिपी निर्माणले भन्सारसँग सम्बन्धित सबै निकाय एउटै छानामुनि हुने हुँदा निकासी र पैठारी दुवैमा सहज हुने विश्वास लिइएको छ ।
यसका साथै व्यापारिक लागत घट्ने, मालबाहक गाडी लामो जाममा बस्न नपर्ने, हालभन्दा छिटो र सहज रूपमा सेवा प्रदान गर्न सकिनेलगायत अन्य काममा पनि सहज हुने सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको भनाइ छ ।













