दैनिक खानपानको घटकहरुमध्ये चर्चा थोरै हुने तर सबैको भागमा हुनैपर्ने खाद्यवस्तु हो दाल । स्थान, भूगोल तथा प्रचलनअनुरुप विभिन्न प्रकारका दालहरु हाम्रो भान्सामा पाक्ने गर्दछ । दाललाई प्रोटिनको भरपर्दो स्रोत मानिन्छ ।
विश्वास गरिन्छ कि शरीर सञ्चालनमा अपुग हुने प्रोटिन निरन्तर रुपमा एक या दुई दलीय दालहरुबाट प्राप्त हुने हुनाले हाम्रो परम्परागत खानामा समावेश गर्ने वैज्ञानिक प्रचलन पोषणविदहरुले चलाएका हुन् ।
दालको वास्तविक परिचय
– अन्न तथा दलहनवर्गमा नै खाद्यवस्तुमध्ये दाल सबैभन्दा धेरै अम्लाकारक र आयुकारक वस्तु हो ।
– पर्याप्त शारीरिक श्रम नगर्ने वा सामान्य मानसिक श्रम मात्र गर्ने व्यक्तिलाई दाल वर्गका परिकारको उचित पाचन नभई अम्लकारक रोगले सताउन सक्ने सम्भावना बढी रहन्छ ।
– पर्याप्त शारीरिक श्रम तथा व्यायाम गर्नेको पेट र शरीर भने दाललाई पचाएर अनावश्यक अम्ल बाहिर निकाल्न सक्षम हुन्छ ।
– कमजोर हुँदा होस् या बिरामी हुँदा होस्, रोगको उपचारका क्रममा यदि दालको रस पियो भने तागत बढ्छ भन्ने चलन छ । यो मान्यता सही हो तर सँगसँगै त्यसले अम्ल तत्वको पनि वृद्धि हुन्छ भन्ने तथ्य भुल्नुहुँदैन । त्यसैले, रोगको उपचारको बेलामा भिजाएर टुसा निस्किएको दालको रस या त नपिसिकन सिङ्गै पकाएको दाल खाने हो भने त्यसमा चाहिँ अम्लको मात्रा तुलनात्मक रुपमा कम हुने हुनाले त्यस अनुरुप मात्र सेवन गर्नु हितकारी हुन्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट












