रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच दुई साताको युद्धविराम सहमति भएको घोषणा गरेका छन् । मंगलबार साँझ गरिएको उक्त घोषणाले सम्भावित ठूलो सैन्य आक्रमण टरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका आफ्ना प्रमुख सैन्य उद्देश्य पूरा गर्दै दीर्घकालीन शान्ति सम्झौताको दिशामा अघि बढिसकेको बताएका छन् । उनले इरानबाट प्राप्त १० बुँदे प्रस्तावलाई वार्ताका लागि आधार मानिएको उल्लेख गरेका छन् ।
उनका अनुसार इरानले स्ट्रेट अफ होर्मुज खुला गर्ने सर्तमा युद्धविराम कार्यान्वयन हुनेछ। विगतका अधिकांश विवादित विषयमा सहमति नजिक पुगेको र दुई साताको अवधिले अन्तिम सम्झौता टुंग्याउन सहयोग गर्ने उनले बताएका छन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले इरानका लागि समयसीमा दुई साताले थप्न ट्रम्पलाई आग्रह गरेका थिए। उनले मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक रूपमा अघि बढिरहेको बताएका थिए।
ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्रीले पनि आक्रमण रोकिएमा इरानले आफ्ना रक्षात्मक गतिविधि स्थगित गर्ने बताएका छन्। उनले उक्त अवधिमा इरानको समन्वयमा हर्मुज जलडमरूमार्गमार्फत सुरक्षित आवागमन सम्भव हुने जानकारी दिएका छन्।
यसअघि ट्रम्पले इरानसँग सम्झौता नभए ‘पूरै सभ्यता नष्ट हुने’ चेतावनी दिएका थिए। हर्मुज जलडमरूमार्ग खोल्नु वार्ताको मुख्य प्राथमिकता रहेको उनले बताएका थिए।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार इजरायलले पनि युद्धविराममा सहमति जनाएको छ, । इरानले हर्मुज जलडमरूमार्ग बन्द गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्तिमा असर परेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य वृद्धि भएको छ।













