काठमाडौँ, १९ चैतः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनमा दिउँसो सवा २ः०० बजे सुरु भएको अधिवेशनमा दलका नेताहरुबाट उठाइएको विषयबस्तु र आएका भावनाले नेपालको संसदीय अभ्यासलाई सु–संस्कृत र परिपक्व तुल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
युवापुस्ताको बाहुल्यता रहेको प्रतिनिधिसभाको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका तर्फबाट शुभकामना दिने क्रममा आ–आफ्ना दलीय दृष्टिकोण सु–स्पष्ट ढङ्गबाट व्यक्त गरियो । त्यस अवसरमा सत्तापक्षबाट सुशासन, समृद्धि र विकासका मुद्दालाई स्पष्ट खाकासहित अघि बढाउने प्रतिबद्धता जाहेर भयो भने प्रतिपक्षबाट सरकारले लिने निर्णय र अघि बढाइने कार्यक्रमलाई गुण तथा दोषका आधारमा रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता व्यक्त भएको छ । अघिल्लो प्रतिनिधिसभा विघटन, त्यसपछि उत्पन्न परिस्थिति, निर्वाचन र वर्तमान सरकार गठन तथा अब देशले लिनुपर्ने नीति तथा कार्यक्रमबारे पनि वक्ताहरुले आ–आफ्नो शैलीमा विषयवस्तु प्रस्तुत गर्नुभयो ।
बैठकको सुरुआतमै एमालेका सांसदहरु आ–आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो । ज्येष्ठ सदस्यको अनुरोधपछि पनि एमाले सांसदहरु उठिरहेपछि सांसद गुरु बराललाई उहाँले बोल्न समय उपलब्ध गराउनुभयो ।
सांसद बरालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई यही चैत १४ गते पक्राउ गरिएको घटनाप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभाध्यक्ष केसी
त्यसपछि बैठकलाई सम्बोधन गर्दै सभाध्यक्ष केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वयको आवश्यता औँल्याउनुभयो । उहाँले जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेकामा जोड दिनुभयो ।
त्यसपछि दलीय रुपमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा शुभकामना दिनुभयो ।
सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएकाले सोही अनुसार काम सुरु गरिसकेको स्पष्ट पार्नुभयो ।
सभापति लामिछानेले भन्नुभयो, “यो संसद् बहसको थलो हुनेछ, प्रतिशोधको थलो होइन् । प्रतिपक्षलाई अन्यायपूर्वक प्रतिशोध र अत्याचार हुनेछैन, तर सुशासनको वेग पनि रोकिने छैन । रास्वपाका हरेकले बोलेर होइन, कामबाट आफूलाई प्रमाणित गर्नुपर्नेछ ।”
नेता आङ्देम्बे
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो ।
विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको नेता आङ्देम्बेले उल्लेख गर्नुभयो ।
नेता थापा
नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापाले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो ।
नेता थापाले निर्वाचनबाट ठूलो दलसहित विजय हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बधाई दिनुभयो ।
नेता पुन
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
अध्यक्ष राई
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनुपर्नेमा जोड दिनुभयो । जनचाहनाबमोजिम मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न सबै लाग्नुपर्ने बताउँदै अध्यक्ष राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकूल असर पार्ने सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।
स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाल सञ्चालनमा रहेका १८ विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछि गृहमन्त्री सुधन गुरुङले सभामा तीन वटा अध्यादेश पेस गर्नुभयो । उहाँले ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभयो ।
सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी
यसअघि बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति कार्यालयबाट अधिवशेन आह्वानसम्बन्धी प्राप्त पत्र तथा प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा यही चैत १३ गते नियुक्त गर्नुभएको थियो । बैठकले नयाँ नियमावली नबनाएसम्म हालको नियमावली २०७९ बमोजिम कामकारबाही अघि बढाउने निर्णय गरेको छ ।
बैठकमा ज्येष्ठ सदस्य केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु आरेन राई, गङ्गा छन्त्याल, ताहिर अलि भाट, बासना थापा, विश्वराज पोखरेल, यज्ञबहादुर बोगटी र बलावती शर्मालाई मनोनयन गरिएको जानकारी दिनुभयो ।
बैठकले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठक करिब २ घण्टा सञ्चालन भएको थियो ।
प्रतिनिधिसभाको आगामी बैठकबाट सभामुखको चयन हुनेछ । त्यसका लागि निर्वाचन कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २२ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ ।












