काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएपछि आजदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछिन् ।
राउतलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्लले बिदाइ गरेकी थिइन् ।विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् । २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए । वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गरेका छन् ।
प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।












