कञ्चनपुर, २६ फागुन : सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । करिब एक महिनाभन्दा बढी समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा छ ।
राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित छैन । यो पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने होली पर्व समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ ।
राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको सुरुआत हुन्छ । सो दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि करिब एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ ।
जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन छ । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास रहेको रामसहाय राना बताउनुहुन्छ ।
उहाँका अनुसार फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबै जनाले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको स्थानीय रामसहाय बताउनुहुन्छ ।
टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेल्ने गरिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ, जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरिन्छ ।
खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी सुरु हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गरिन्छ ।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रतनलाल रानाका अनुसार यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ । “गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिन्छ, जसले यो पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउँछ”, उहाँ भन्नुहुन्छ ।
सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित स्थानमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री फुटाउने चलन छ । राना थारू समुदायका अगुवा जगता रानाले खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा रहेको बताउनुभयो । “यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कारका रूपमा मानिन्छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको छ । खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कडा मान्यता छ । यदि कसैले फर्केर हेरेमा अनिष्ट निम्तिने वा दुष्ट शक्ति देखिने विश्वास समुदायमा प्रचलित रहेको राना थारू समुदायका बूढापाकाहरू बताउनुहुन्छ ।
खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा पनि हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन् । फगुवाका रूपमा घरधनीले गच्छेअनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिन्छ ।
नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताउनुभयो । “राना थारू समुदायको सांस्कृतिक जीवनमा होलीको विशेष महत्व छ”, उहाँले भन्नुभयो, “विशेषगरी खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्छ ।”
उहाँका अनुसार खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउनेलगायतका कामसमेत रोक्ने चलन छ । विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको उहाँले उल्लेख गर्नुभयो ।
गर्मी मौसम सुरु हुने लु लाग्ने समयमा रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएका छन । यसरी खखडेहरा पर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको देखिन्छ ।
“सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वअध्यक्ष रानाले भन्नुभयो । आजका दिन अर्थात् खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
–––













